हेटौंडा अस्पतालमा दैनिक १०० बढी अक्सिजन सिलिन्डर खपत, स्टक शुन्य

मन्त्रालय भन्छ, प्लान्ट निर्माणको गृहकार्यमा छौं
हेटौंडा खबर
May 8th, 2021

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान  हेटौंडा अस्पतालमा दैनिक १०० बढी अक्सिजनका सिलिन्डर खपत हुने गरेको छ ।

जिल्लामा कोरोना संक्रमित दर बढ्दै जाँदा र अस्पतालमा संक्रमितको संख्या ह्वात्तै वृद्धि भएपछी दैनिक एकसयको हाराहारीमा ठुला सिलिन्डर सकिने गरेको अस्पतालमा कोभिड-१९ इन्चार्ज डाक्टर सागर काफ्लेले बताए ।

‘दैनिक १० देखि १५ वटा सिलिन्डरले पुग्थ्यो तर अस्पतालमा आइसीयु र एचडियुमा रहेका कोरोना संक्रमित सबैलाई अक्सिजन दिएर राख्नु परेको छ’,  त्यसैले बढी बढी चाहिएको हो उनले भने ।

अस्पतालमा दैनिक कोरोना संक्रमित थपिदै गैरहेका छन् भने अस्पतालमा बनाइएका आइसीयु र एचडियु कक्ष लगभग भरिने अवस्थामा रहेका छन् । तर अक्सिजनको भने स्टक शुन्य रहेको पाइएको छ ।

केहिदिन अघिसम्म जिल्लामा पर्याप्त मात्रामा अक्सिजन छ भनिएता पनि अस्पतालका लागि स्टकमा एउटापनि सिलिन्डर नरहेको बुझिएको छ ।

अक्सिजन सकिएपछी रातारात जिल्ला प्रहरी कार्यालयको सहयोगमा गएराती बाराको परवानीपुरबाट केहि सिलिन्डरहरु ल्याइएको छ  । यसले अस्पतालमा अक्सिजन अपुग रहेको संकेत गरेको छ ।

‘राति बाराबाट केहि सिलिन्डर नल्याएको भए आजलाई अप्ठेरो पर्थ्यो हाललाई काम चल्यो’, डाक्टर काफ्लेले भने ।

हाल हेटौंडा अस्पतालको १७ बेडको आइसियुमा ११ जना उपचाररत छन् २० बेडको एचडियुमा १८ जना कोरोना संक्रमित उपचाररत छन् भने १४ बेडको स्टेप डाउन वार्डमा ७ जना रहेका छन् । यी बिरामी मध्य वार्ड बाहेकका सबैलाई अक्सिजनको साहारा दिएर उपचार गराइरहनु परेको छ ।

तर अस्पतालमै अक्सिजनको अभाव हुने संकेत देखिदा प्रशासनको भने तयारी शुन्य देखिएको छ ।

‘गाउँपालिकाहरुमा पनि अक्सिजनको सिलिन्डर जान थालेपछि यहाँ अलि अपुग जस्तो देखिएको हो, म्यानेज भैरहेको छ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल संचालक समिति सदस्य उत्सब चौलागाईंले भने । ‘अस्पतालमै अक्तिजन प्लान्ट स्थापना गर्ने भनि प्रक्रिया पनि अघि बढिसकेको छ, केहिसमय पछी यो समस्या हल हुन्छ’, उनले टेलिफोन कुराकानीमा भने ।

उता बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर पुरुषोत्तम सेडाईले भने आवश्यकता परेको खण्डमा आफुहरु संग अन्य सिलिन्डर पनि रहेको र अन्य जिल्लाबाट भएपनि मोभिलाइज गर्ने बताउछन्  । हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए ।

‘प्लान्ट स्थापनाको लागि खरिद प्रक्रिया पनि अघि बढेको छ, आइतबार भोलि नै टेन्डर प्रक्रिया सुरुगर्ने तयारी छ, अब चाडैनै काम सुरु हुन्छ’, उनले भने ।

प्लान्ट स्थापना गर्ने तयारी त यकातिर हुन्छ नै, अस्पतालमै अक्सिजनको अभाव भयो भने अर्को ठुलो समस्या उब्जिन्छ । त्यसैले बेलैमा यसतर्फ सम्बन्धित सबैले ध्यान दिनु जरुरी छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*