अब हेटौंडा छिर्न पीसीआर रिपोर्ट अनिवार्य, खोप नलगाएकालाई नाका मै लगाईदिने

हेटौंडा खबर
January 14th, 2022

दुई नम्बर  प्रदेशबाट आएकालाई हेटौंडा प्रवेश गर्न कोरोना परिक्षण गरेको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ ।

बागमती प्रदेशको मुकाम हेटौंडामा दैनिक संक्रमित बढीरहेको र भारत हुँदै मध्यनेपाल प्रवेश गर्नेहरुको संख्या बढी हुने भएकाले अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।  बिहीबार साँझ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बैठकले २ नम्बर प्रदेशबाट बागमतीमा प्रवेश गर्न अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय गरेको छ ।

कोरोनाको नयाँ  भेरियन्ट ओमिक्रोनको सम्भावित खतरा न्यूनीकरण गर्न अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए । ‘बागमती देशका सात प्रदेशमध्ये धेरै संक्रमणबाट जोखिम भएको प्रदेश हो ।

कोरोना संक्रमणको  रोकथामका लागि २ नम्बर प्रदेशबाट प्रवेश गर्नेका लागि अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय भएको छ ।,’ मन्त्री लामाले भने । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको र तराईक्षेत्रबाट बागमती प्रदेश प्रवेश गर्नेहरुको संख्या बाक्लो भएकोले पीसीआर रिपोर्ट अनिवार्य गरिएको लामाको भनाई छ ।

कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बैठकले २ नम्बर प्रदेशको हरेक नाकामा कोरोनाविरुद्धको भ्याक्सिन (खोप) लगाउने व्यवस्था मिलाउने निर्णय गरेको मन्त्री लामाले जानकारी  दिए ।

‘२ नम्बर प्रदेशको सबै नाकामा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन व्यवस्था मिलाउने निर्णय भएको छ । जसरी हुन्छ बागमती प्रदेशबासीलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बचाउनु पर्ने दायित्व छ । प्रदेश– बासीलाई सुरक्षित राख्न प्रदेशले सबैजसो प्रयास गरिरहेको छ ।,’ उनले भने ।

यात्रुबाहक र मालबहाक सवारीसाधनका चालकहरु अधिकांशले कोरोनाविरुद्धको खोप नलगाएको जानकारीपछि प्रदेशले नाकामै कडाई गर्ने नीति अप्नाएको बुझिएको छ । चालकहरुले खोप नलगाएकालाई उनीहरुलाई नाकामै र जिल्लाका सबै बसपार्कहरुमा कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्र स्थापना गर्ने निर्णय कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिले गरेको स्वास्थ्य मन्त्री लामाले जानकारी दिए ।

प्रदेश सरकारले समुदायमै पुगेर खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । समितिले बागमती प्रदेशका विकट क्षेत्रमा  खोप केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । मकवानपुर, धादिङ,  रामेछाप, सिन्धुपाल्चोक, चितवन, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोकका विकट क्षेत्रका नागरिकले खोप नलगाएको पाएपछि गाउँमै पुगेर खोप लगाइने स्वास्थ्य मन्त्री लामाले  बताए । ‘अझैसम्म पनि विकट क्षेत्रका नागरिकले खोप लगाएका छैनन् भन्ने तथ्यांकले देखाउँछ । उनीहरुलाई सचेतना जगाउँदै समुदायमै पुगेर खोप लगाउने व्यवस्था प्रदेश सरकारले गर्नेछ ।,’ लामाले भने ।

प्रदेश सरकारले केही दिनअघि मात्रै ४ सय ७९ जना स्वास्थ्यकर्मीको करार ६ महिनालाई थप गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रदेश सरकारले कोभिड–१९ रोकथामका लागि भन्दै नियुक्त गरेको स्वास्थ्यकर्मीको करार समयावधि यही पुसमा सकिन लागेको थियो । समितिले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि प्रदेशका एक सय १९ वटै स्थानीय तहसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ ।

प्रदेशबासीलाई जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने समितिले निर्णय गरेको जनाइएको छ । अब भिडभाडमा नियन्त्रण, अनिवार्य मास्क र सेनिटाइजर लगाउनु पर्नेछ ।

आजको साझाकुरा दैनिकबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*