देशभरि बढ्यो वायु प्रदुषण

हेटौंडा खबर
March 29th, 2022

देशका विभिन्न भागमा लागेको डढेलोका कारण नेपालभर वायु प्रदुषण ह्वात्तै बढेको छ।

वातावरण विभागका अनुसार मंगलबार दिउँसो सबैभन्दा धेरै वायु प्रदुषण पोखरामा छ। त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २१७  भने सिमरामा १७८ र भरतपुरमा १६३ छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको एक्युआई १५२ छ। हावामा प्रदुषणको मात्रा बढेसँगै काठमाडौं संसारमै प्रदुषित हावा भएको सहरमा चौंथो नम्बरमा परेको छ।स्विट्जरल्याण्डको आइक्युएयरका अनुसार काठमाडौंभन्दा अघि भियतनामको हनोई, बंगलादेशको ढाका र भारतको मुम्बई छन्।

वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको, बेस्सरी हावा नचलेको र पानी पनि नपरेका कारण प्रदुषण बढेको बताए।‘बेस्सरी हावा चलेन र पानी पनि परेन भने प्रदुषण अझै बढ्न सक्छ,’ उनले भने।वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) मा मापन गरिन्छ।

एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि  जानुचाहिँ घातक हो।

पोहोर साल काठमाडौंको एक्युआई घातकको तहमा पुगेको थियो। ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ सम्म पुगेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*