कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता गर्न बोर्डको निर्देशन

हेटौंडा खबर
April 17th, 2022

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।

बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भईरहेको जनाएको छ ।

‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन/शाखा कार्यलयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराईने जानकारी बोर्डले दिएको छ ।

विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको र सो सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोले सोही अनुसार गर्न/गराउन निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*