भारतले चुनावका लागि उपलब्ध गराउने गाडीको आशमा प्रहरी
नेपाल प्रहरीले स्थानीय तहको चुनावका लागि आवश्यक सवारीसाधन कसरी जुटाउने भन्ने टुंगो अझै लगाउन सकेको छैन । चुनावका लागि प्रहरीलाई मात्रै ४ सय गाडी आवश्यक छ ।
तर, चुनावी गस्तीका लागि आवश्यक गाडी भाडामा प्रयोग गर्ने वा सहयोगमा प्राप्त हुने सरकारले अझै प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको छैन । प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णु केसीले चुनावमा प्रहरीका लागि आवश्यक गाडीबारे सरकार र तालुकदार गृह मन्त्रालयबाट कुनै निर्णय नआएको बताए ।
‘चुनावमा प्रहरीका लागि गाडी आवश्यक नै छ । तर, अब खरिद प्रक्रियाबाट खरिद सम्भव छैन । भाडाका लागि अर्थ मन्त्रालयले बजेट पनि उपलब्ध गराएको छैन,’ एसएसपी केसीले भने । प्रहरी प्रधान कार्यालयले यसअघि नै चुनावका लागि देशभर करिब १५ सय गाडी आवश्यक रहेको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको थियो ।
त्यसमध्ये प्रत्येक स्थानीय तहका लागि एउटा नयाँ गाडी खरिद गर्न प्रहरीले माग गरेको थियो । तर, सरकारले प्रहरीका लागि आवश्यक गाडी खरिद गर्न बजेट नै नछुट्याएपछि प्रहरी अलमलमा परेको छ । प्रहरी प्रधान कार्यालयले भाडामा लिनुपरे पहाडी जिल्लामा चारवटा र तराईका जिल्लामा ३५ वटा गाडी भाडामा लिने तयारी गरेको छ ।
त्यसका लागि यातायात व्यवसायीसँग समन्वय गरिने प्रहरीको भनाइ छ । प्रहरीले बजेटका आधारमा एक हप्तादेखि तीन दिनसम्म गाडी भाडामा लिइने जनाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार भने प्रहरीका लागि आवश्यक गाडी छिमेकी देशसँग सहयोगको आग्रह गरिएको छ ।

