हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै पार्टी कार्यालयमा तालाबन्दी
हेटौंडा उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने माग राख्दै कांग्रेस नेता तथा कार्यकर्ताले कांग्रेसको मकवानपुर जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
आज दिउसो कांग्रेस नगरसमितिको बैठक बसिरहेको अवस्थामा कांग्रेस नेता तथा कार्यकर्ताले कांग्रेस सभापति, सचिवालयको कक्षलगायतका कोठाहरुमा तालाबन्दी गरेका हुन् ।
नेपाली कांग्रेस नगरसभापति उत्सव इटेनीको सभाध्यक्षतामा बसेको बैठकमा हेटौंडाका सबै कांग्रेस वडा सभापतिहरूले हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्ने माग राखेका छन् । बैठकमा सहभागि हेटौडा नगरका १९ वडाका सभापतिहरूले कांग्रेसबाट जो उम्मेदवार भएपनि स्विकार्ने तर मेयर पद अरुलाई छोड्न नहुने अडान राखेका छन् ।
उनीहरूले नगरमा गठबन्धनका अन्य दल भन्दा कांग्रेसको प्रभाव बलियो रहेकाले मेयर नै लिनुपर्ने भन्दै केन्द्रीय नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।
हेटौंडाको मेयर अरुलाई दिए बिद्रोह गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।
कांग्रेस हेटौंडानगरको बैठक बसिरहेको समयमा उपस्थित नेता कार्यकर्ताले नेतृत्वलाई दवाव दिन पार्टी कार्यालयमा तालाबन्दी गरेपछि बैठकमा सहभागि नगर कार्य समितिका पदाधिकारी र १९ वडाका सभापति आधा घण्टा भित्रै थुनिएका थिए ।

