मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एकजना घाइते
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गए रातिको वर्षासँगै परेको चट्याङ लागेर एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–८ बस्ने ६५ वर्षीय जितबहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, मंगलबार राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएको र उनको उपचारको लागि हेटौंडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक गोलेको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यस्तै, हिजो राति नै चट्याङ लागेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ बस्ने ६२ वर्षीया ठूलीमाया रुम्बा गम्भीर घाइते भएकी छन् । घाइते रुम्बाको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

