बालुवाटारमा सत्तागठबन्धन बैठक, उपमहानगर भागबन्डा टुंग्याउने तयारी

हेटौंडा खबर
April 20th, 2022

सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको छ।

आज मध्यान्हदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।आजको बैठकमा ११ उपमहानगर भागबन्डा गर्ने तयारी छ। गए राति अबेरसम्म पनि गठबन्धन बैठक बालुवाटारमा बसेको थियो तर सहमतिमा पुग्न सकेको थिएन।

जनकपुर उपमहानगरमा कांग्रेस र जसपाले दाबी गरेका छन्। अन्यत्र भने लगभग भागबन्डा मिलेको स्रोतको दाबी छ।११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी छलफल भएको छ।

नेकपा माओवादी केन्द्रले घोराही र जितपुर-सिमरा पाउनेबारे छलफल भएको थियो भने नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ।

छ महानगरको भागबन्डा भने मिलिसकेको छ। काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई, पोखरा एकीकृत समाजवादीलाई, वीरगञ्ज जसपालाई र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*