‘कांग्रेस हेटौंडा’को पत्रकार सम्मेलन: निर्णय सच्याउन माग, नत्र कांग्रेस एक्लै चुनाव लड्ने
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका समितिले हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय सच्याउन माग गरेको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै कांग्रेस हेटौंडा नगर समितिका अध्यक्ष उत्सव इटेनीले ५ दलीय गठबन्धनको केन्द्रले गरेको निर्णय पुनरावलोकन गर्न माग गरेका छन् ।
यदि केन्द्रले हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय नसच्याए मित्रवत प्रतिष्पर्धा गर्दै कांग्रेस एक्लै चुनावमा जाने उनले जानकारी दिए ।
‘नगरको गठबन्धनमा आबद्ध दलहरुमध्ये सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको नेतृत्वमा चुनावमा सहभागी हुन गठबन्धनका दलहरुसमेत तयारी रहेको अवस्थामा केन्द्रीयस्तरबाट भएको भागबण्डालेbगठबन्धनको आवश्यकता र औचित्यसमेत पूरा गर्न नसक्ने गरी भएको यस निर्णयलाई पुनरावलोकन गरी गठबन्धनको वास्तविक आवश्यकता र औचित्यसमेत पुष्टि गर्ने गरी नेपाली काँग्रेस पार्टीले मेयर पद पाउने गरी गठबन्धन दलहरुबीच सहमति, सहकार्य र एकताको साथ अघि बढ्ने वातावरण तयार गरिदिनुहुन पार्टी नेतृत्वसमक्ष जोडदार माग गरिन्छ’ । उनले जारि गरेको बिज्ञप्तिमा भनिएको छ ।
सभापति उत्सव इटेनीले मेयर र बहुमत वडा कांग्रेसले पाए मात्रै गठबन्धन गर्ने बताए । ‘कांग्रेसले मेयर र बहुमत वडा पाए मात्रै गठबन्धन गर्छ । नपाए हामी एक्लै निर्वाचन लड्छौँ,’ इटेनीले भने ।
नगरका १९ वडाका सभापतिहरूले मेयर पद अरुलाई छोड्न नसक्ने बताएको भन्दै पार्टीको हितविपरीत जान नसकिने इटेनीको भनाइ छ ।


