हेटौंडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौंडा खबर
April 21st, 2022

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको निर्वाचनको लागि बिहीबार एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
स्थानीय तहको निर्वाचनका लागि देशभर एकैसाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा पनि कार्यालय स्थापना गरिएको हो । जिल्ला अदालत मकवानपुरका न्यायाधीश तथा मुख्य  निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हेटौंडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।त्यस्तै आज नै जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतहरू नियुक्ति पत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।
हेटौंडामा कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जनताको अधिकार र लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन महत्वपूर्ण रहेको बताए । उनले मतदातालाई भयरहित वातावरणमा निर्वाचन सहभागि गराएर स्थानीय शासन प्रणालीमा उनीहरुको सहभागिता बढाउनु नै लोकतन्त्रको मर्म हो । मतदाताले जति भयरहित वातावरणमा निर्वाचनमा सहभागि हुने अवसर प्राप्त गर्छन त्यति नै असल समाजको निर्माणमा सफलता हात मिल्ने उनले वताए ।
निर्वाचनमा मतदातालाई दवावमा राख्ने, प्रभावित पार्ने र लोभलालच देखाउने काम गरियो भने समाज पनि खराख बन्ने उनको भनाइ छ । सबैले आ–आफ्नो स्थानबाट जिम्मेवार बनेर निर्वाचनलाई सफल र भयरहित बनाउन भूमिका खेल्नु पर्ने उनले बताए ।

निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको अवस्थामा राजनीतिक दल, तिनका कार्यकर्ता, मतदाता, संचारकर्मी र निर्वाचनमा खटिएका कर्मचारीहरुले जिम्मेवार बनेर त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आगामी निर्वाचनलाई सफल बनाउन जिल्लाको सुरक्षा स्थितीलाई चुस्तदुरुस्त राख्न विषेश योजनाहरु लागु गरिने बताए ।

जिल्लाको सुरक्षा संयन्त्रको बैठकले निर्वाचन विशेष सुरक्षा योजना तर्जुमा गरिसकेको र त्यसलाई आवश्यकता अनुसार कार्यान्वयनको चरणमा लगिने बताए । उनले निर्वाचनलाई भयरहित बनाउन ४ तहको सुरक्षा संयन्त्र र १ हजार ४७१ जना म्यादी प्रहरीको परिचालन गरिने उनले बताए । जिल्लाका १९ वटा मतदान स्थल अति संवेदनशिल अवस्थाका रहेकाले त्यहाँ सोहि अनुसार विशेष प्रकारको सुरक्षा योजना र अनुभवी कर्मचारीको व्यवस्था गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*