कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनिश्चित

हेटौंडा खबर
April 22nd, 2022

सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्न सकेन। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको थियो। तर, आज बैठक सुरु नै हुन सकेन।

बैठकका लागि भनेर केन्द्रीय कार्यालय पुगेका नेताहरु समेत फर्किन थालेका छन्। केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले अब बैठक भोलिमात्रै बस्ने सक्ने बताए।

‘आज बैठक हुँदैन। सम्भवतः भोलि फस्ट आवरमा बैठक बस्छ’ उनले भने।

कांग्रेसले देशभरका ६ महानगरमध्ये ३ महानगरको मेयरमा आफ्नो पार्टीको उम्मेद्वार उठाउने सहमति गठबन्धनसँग गरिसकेको छ। यसैगरी ११ उपमहानगरमध्ये ७ उपमहानगरमा कांग्रेसले प्रमुखमा उम्मेद्वारी दिन पाउने भएको छ। यी स्थानीय तह र देशभरबाट टुंगो लाग्न नसकी केन्द्रमा आएका उम्मेदवारको छिनोफानो लगाउने विषयमा आजको बैठकमा छलफल हुने बताइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*