एमालेबाट हेटौंडामा मेयरको उम्मेदवार अनन्त पौडेल, उपमेयर सुमित्रा काफ्ले
नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अनन्त पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छान्न बसेको एमालेको सचिवालय बैठकले बागमती प्रदेशको एकमात्र उपमहानगरपालिकाको मेयरमा पौडेललाई उठाउने निर्णय गरेको हो ।
पौडेल संविधानसभा सदस्यसमेत हुन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पौडेल मकवानपुरको निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित भएका थिए । त्यसयता संसदीय राजनीतिमा अवसर नपाएका पौडेल पार्टीको आन्तरिक गतिविधिमा सक्रिय रहेका थिए ।
आगामी निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयरमा दावी गर्दै आएका उनलाई गत चैत अन्तिम साता बसेको एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको बैठकले मेयर पदमा सिफारिस गरेको थियो ।
त्यस्तै एमाले सचिवालय बैठकले हेटौंडाको उपमेयरमा सुमित्रा काफ्लेलाई टिकट दिने निर्णय गरेको छ । अखिल नेपाल महिलासंघ मकवानपुरकी अध्यक्षसमेत रहेकी काफ्ले बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको रोजाइकी उम्मेदवार हुन् । काफ्लेलाई पूर्व मुख्यमन्त्री पौडेलसँगै एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको पनि राम्रो समर्थन रहेको छ ।

