एमालेले भोलिमात्रै उम्मेदवारी दर्ता गर्ने, अन्य दलका असन्तुष्टलाई पार्टी प्रवेश गराउने उद्देश्य
नेकपा एमालेले भोलि मात्रै स्थानीय तहका उम्मेदवारको मनोनयन गर्ने भएको छ।
निर्वाचन आयोगले बैशाख ३० गते हुन लागेको ७ सय ५३ स्थानीय तहका लागि आज र भोलि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकेको छ।पाँच दलीय गठबन्धनमा विवाद देखिएकोले एमालेले भोलि मात्र उम्मेदवारी दिन लागेको एमालेका एक उच्च नेताले जानकारी दिए।
केही स्थानमा गठबन्धनभित्र विवाद देखिएकोले असन्तुष्ट व्यक्तिहरुलाई पार्टी प्रवेश गराएर उम्मेदवारी दिन भोलिसम्मको समय कुर्न लागेको उनले बताए।
‘हाम्रो पार्टीबाट स्थानीय तहको निर्वाचनका लागि भोलि मात्र उम्मेदवारी मनोनयन दर्ता गराउने तयारी छ,’ ती नेताले नेपालखबरसँग भने, ‘पाँच दलीय गठबन्धनको मुभ हेरेर केही तहको उम्मेदवार हेरफेर हुने भएकोले भोलिसम्म कुर्न लागेका हौँ।’
केही जिल्लाका स्थानीय तह बाँडफाँटमा गठबन्धनभित्र विवाद भएपछि पार्टी छोड्ने क्रम बढेको छ।
एमालेले आज दिनभरको गठबन्धनको मुभ हेरेर अनि बल्ल भोलि उम्मेदारी दर्ता गराउन लागेको हो।ललितपुर महानगरपालिकामा प्रमुख पदका उम्मेदवार सिफारिस हरिकृष्ण व्यञ्जनकारले भोलिमात्र उम्मेदवारी दर्ता गर्न लागेको बताए।
‘हाम्रो पार्टीले भोलिमात्र उम्मेदवारी दर्ता गराउन भनेको छ, म भोलि नै दर्ता गराउँछु,’ उनले भने।


