कांग्रेसले अझै टुंग्याएन उमेदवार
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि मनोनयनपत्र दर्ता सुरु भएको छ । तर, सत्तारूढ दल नेपाली कांग्रेसले भने अझै उमेदवारहरू ‘फाइनल’ गर्न सकेको छैन ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच स्थानीय तहमा भागबन्डा मिले पनि पार्टीभित्र भने विवाद उत्कर्षमा छ । भागबन्डाअनुसार कांग्रेसले ६ मध्ये तीन महानगरपालिकामा प्रमुख पद पाए पनि उमेदवारको टुंगो लगाउन सकेको छैन । बिहीबारदेखि शीर्ष नेताहरूको अनौपचारिक बैठक बालुवाटारमा जारी छ ।
सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बैठक बसिरहे पनि सहमति भने जुट्न नसकेको बताए । “अहिले पनि हामी बैठकमै छौँ । सहमति भएको छैन,” उनले बाह्रखरीसँग भने ।
कांग्रेसको विधानानुसार संसदीय समितिले टिकट वितरण गर्नुपर्ने हुन्छ । महानगरको टिकट केन्द्रीय संसदीय समितिले वितरण गर्छ । तर, समिति बन्न सकेको छैन ।
कार्यसम्पादन समितिको बैठक बसेर टिकट फाइनल गर्ने पार्टीको तयारी छ । तर, शुक्रबारका लागि बोलाइएको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले जानकारी दिए ।

