पाँच दलीय गठबन्धनको निर्णयअनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन

हेटौंडा खबर
April 25th, 2022

सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको हो ।

बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले देशैभरी पाँच दलको एउटै उम्मेदवार हुने बताए ।

उनले भने, ‘समग्र मिटिङमा पाँच दलको भावना र मर्मअनुसार अगाडि बढ्ने र कतै आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने । र जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडी बढाएर आज पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ ।’

उनले निर्णयलाई पालना गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । ‘अहिले यो स्थानीय सरकारले विकास निर्माणलाई तिव्रता दिनुपर्दछ । पाँच वर्षको अनुभवले पनि के देखाएको छ भने स्थानीय सरकारले खास गरेर सडक पूर्वाधारहरुमा उल्लेख्य काम गरेका छन् । र अब यो पाँच वर्षमा विकास निर्माणलाई अगाडी बढाउने उद्देश्यले स्थानीय निकायलाई परिचालन गर्नुपर्दछ ’, उनले भने, ‘स्थानीय निकायमा पाँच दलले खडा गरेका उम्मेदवारहरूलाई एकताका साथ निर्वाचित गराउन सबैले आ–आफ्नो संयन्त्रमार्फत् आ–आफ्नो दललाई निर्देशन गर्ने निर्णय भएको छ । केही छुटफुट उम्मेदवारीहरु दर्ता भएपनि तिनीहरुलाई फेरि सहमती गरेर पाँच दलको एउटै उम्मेदवारहरू देशभरी हुनेछन् ।’

मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेहरूलाई पनि सहमतीमा ल्याउने बताए ।  सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*