थाहा नगरमा ६२ पदका लागि २ सय ४४ मनोनयन
मकवानपुर पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा ६२ पदका लागि २ सय ४४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार र सोमबार भएको मनोनयन दर्तामा उनीहरुले विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय विकास घर शिखरकोटका अनुसार थाहा नगरपालिकाको प्रमुख पदमा ६ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा २ जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रसहित १२ जना वडा अध्यक्ष पदका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् । यो संख्या आवश्यक भन्दा करिब ५ गुणा बढी हो । राजनीतिक दलहरुका अनुसार वडा नम्बर १ मा ४ जना, वडा नम्बर २ मा ६, वडा नम्बर ३ मा ५, वडा नम्बर ६ मा ५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
वडा नम्बर ७ मा ७ जना, वडा नम्बर ८ मा ५, वडा नम्बर ९ मा ५, वडा नम्बर १० मा ४, वडा नम्बर ११ मा ६ र वडा नम्बर १२ मा २ जनाको मेद्वारी परेको छ । थाहा नगरमा सबैभन्दा बढी वडा नम्बर ७ मा ७ जना र कम वडा नम्बर १२ मा २ जनाको मात्र मनोनयन दर्ता भएको हो ।
वडा अध्यक्ष पदमा ४ जनाको सवतन्त्र उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर ३, ४, ८ र ९ मा १/१ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । थाहा नगरका १२ वटै वडा सदस्यका लागि १२ पदमा ४६ जनाको उम्मेद्वारी छ । त्यस्तै १२ दलित महिला सदस्यका लागि ३८ जनाको र २४ जना वडा सदस्य पदका लागि १ सय ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

