नेपाल राष्ट्र बैंकले आज ६६ औँ वार्षिकोत्सव मनाउने
नेपाल राष्ट्र बैंकले आज आफ्नो ६६ औँ वार्षिकोत्सव मनाउँदैछ।
वार्षिकोत्सव समारोहमा नेपालको अर्थतन्त्रमा कोभिडका कारण परेको असर र अहिलेको खस्किँदो अर्थतन्त्रका बारेमा पनि छलफल हुनेछ।
खस्किँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आया, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरूमा नकारात्मक असर परिरहेको र यसलाई सकारात्मक ढंगबाट अघि बढाउने विषयमा पनि छलफल हुने राष्ट्र बैंकले जनाएको छ।
वार्षिकोत्सव कार्यक्रममा भने अर्थमन्त्रीलाई बोलाइएको छैन। पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध कोलाहलपूर्ण छ।अर्थमन्त्री शर्माको प्रस्तावमा सरकारले केही दिनअघि गभर्नर अधिकारीविरुद्ध गोप्य सूचना चुहाएको आरोपमा निलम्बन गरेको थियो।
निलम्वनपछि आफूलाई हटाउने उद्देश्यले सरकारले निलम्वन गरेको भन्दै जाँचबुझ आयोग खोरेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका अधिकारीलाई अदालतले निलम्वन नगरी काममा फर्किने गरी अल्पकालीन आदेश दिएको थियो।
सर्वोच्च अदालतमा रहेको गभर्नर अधिकारीमाथिको मुद्दामा दुवै पक्षको वहस नसकिएकोले हेर्दाहेर्दैमा राखिएको छ।

