तालमेल नभएका ठाउँमा आजै समझदारी गर्न सत्ता गठबन्धनको निर्देशन

हेटौंडा खबर
April 27th, 2022

पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहमा उम्मेदवारी दर्ता भइसकेपनि तालमेल नभएका ठाउँमा बुधबारै छलफल गरी समझदारीको वातावरण बनाउन निर्देशन दिएको छ । शीर्ष नेताहरूले गठबन्धन दलबाहेक अन्य दलसँग कही कतै तालमेल भएको भए त्यस्तो तालमेलसमेत तत्काल खारेज गर्न निर्देशन गरेका छन् ।

‘गठबन्धनका दलहरुका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरुमा समेत आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने, र त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीइ संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने,’ गठबन्धनले निर्देशन गरेको छ ।

बैठकपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन गरेका हुन् । ‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने,’ पाँच दलका प्रमुखहरूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनको बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि प्रमुख पदमा तालमेल गर्ने निर्णय भइसकेका छ महानगर र ११ उपमहानगरका वडा तहमा समेत सिट बाँडफाँट गरी तालमेल गरेर अघि बढ्न निर्देशन गरेको छ । गठबन्धनले सम्बन्धित प्रदेश र जिल्ला संयन्त्रको बुधबारै बैठक राखेर तालमेल गर्न बाँकी रहेका ठाउँमा तत्काल गठबन्धन दलभित्र भागबन्डा गरेर समझदारी गर्न निर्देशन गरेको हो ।

गठबन्धनले महानगर र उपमहानगरमा गठबन्धनको निर्णयविपरीत परेका दलगतरुपमा परेका र स्वतन्त्ररुपमा परेका उम्मेदवारीसमेत फिर्ता गर्ने निर्णय गरेको छ । गठबन्धनले नगरपालिका र गाउँपालिकाहरुमा गठवन्धनका दलहरुका बिचमा भईसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरु समेत फिर्ता गर्ने निर्णय गरेको छ । स्वतन्त्र उम्मेदवारी जुन दलका कार्यकर्ताले दिएका छन्, सम्बन्धित दलले नै पहल गरेर त्यस्तो उम्मेदवारी फिर्ता गराउने गठबन्धनको सहमति छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*