हेटौंडामा गठबन्धनलाई ठुलो धक्का, एस मकवानपुरका अध्यक्षसहित ३ दर्जनले पार्टी छाडे
नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्ष श्रीधर पोखरेलले राजिनामा दिएका छन् । यो संगै स्थानीय निर्वाचन नजिकिदै जाँदा मकवानपुरमा गठबन्धनलाई ठुलो धक्का लागेको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै केहि ब्यक्तिको स्वार्थ पुरा गर्न कार्यकर्ताको समस्यालाइ नजर अन्दाज गर्दै प्राइभेट कम्पनीमा पार्टी रुपान्तरण गरेकाले आफुले साधारण सदस्यसमेत नरहने गरि राजिनामा दिएको उनले बताएका छन् ।
पार्टीलाइ विधि र पद्धती संगत ढंगबाट संचालन गर्न, पार्टीका नेता कार्यकर्ताको मुल्यांकन र गुट बन्दिको अन्त्य गर्न ८ महिना अगाडि एमालेबाट बिद्रोह गरि नयाँ पार्टी स्थापना गरेपनि पार्टी भित्र जबर्जस्त ढंगबाट हुर्काउन खोजिएको ब्यक्तिबादका कारण पार्टी छाडेको उनले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
गठबन्धनको नाममा अध्यारो कोठामा बसेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने गरि आफ्नो कुण्ठित मनसाय पुरा गर्न षडयन्त्र भैरहेको भन्दै निर्वाचित निकायलाई भ्रस्टचारको अखडा बनाउने नियत प्रति आफ्नो असहमति रहेको उनले जारि गरेको बिज्ञप्तिमा उल्लेख छ ।
उनीसंगै एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य बिरेन्द्र डिसी लगाएत ३ दर्जन नेता कार्यकर्ताले समाजवादी परित्याग गरेको घोषणा गरेका छ्न् । पार्टिले गठबन्धनको नाममा हेटौंडालाई मात्र ध्यान दिएर जिल्लाभरको सबै स्थानीय तहका कार्यकर्तालाइ बिचल्ली बनाएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।
पार्टी छोड्नेमा सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र डिसी, गोपाल स्यान्तांग, मनहरी गाउँपालिका सदस्य बिमल स्यान्तांग,प्रविण चेपांग, गाउँ कमिटि सह सचिव जोन प्रजा लगायत छन् ।
आसन्न स्थानीय तहको निर्वाचनको मुखमा समाजवादीका जिल्ला अध्यक्ष्सहित ३ दर्जनले पार्टी परित्याग गरेपछि सत्ता गठबन्धनलाई ठुलो धक्का लागेको छ भने यसले चुनावमा समेत असर गर्ने देखिएको छ । मकवानपुरमा ५ दलीय गठबन्धन भनिएपनि जसपा र जनमोर्चा यस अघि नै बाहिरिएका छन् ।
जिल्लाको गठबन्धनको निर्णय अनुसार मकवानपुरका २ स्थानीय तह एसको भागमा परेको थियो । हेटौंडा उपमहानगरपालिकाको प्रमुख र इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पाएको एसले मकवानपुर पार्टी उपाध्यक्षसमेत रहेकी मिना कुमारी लामालाई हेटौंडाको मेयरको उम्मेदवार बनाएको छ ।
यस अघि नै केन्द्रबाट मेयरमा लामाको नाम आएपछि अध्यक्ष पोखरेलले अशन्तुष्टी जनाएको खबर बाहिर आएको थियो । यद्दपी उनले औपचारिक रुपमा भने केहि बोलेका थिएनन् ।

