वीरगञ्जमा गठबन्धनलाई जिताउन उपसमिति गठन

हेटौंडा खबर
April 27th, 2022

नेपाल सरकारमा सहभागी सत्ता गठबन्धनका दलहरुबिच वीरगञ्जमा बुधवार छलफल भएको छ । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ ।

बैठकले नेपाली कांग्रेसका नेता श्याम कुमार पोखरेलको संयोजकत्वमा वीरगञ्ज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेसका नेता प्रकाश कुमार उपाध्याय, नेकपा माओवादी केन्द्रका सुरेन्द्र गुप्ता, जनता समाजवादी पार्टी (जसपा) बाट मधेस प्रदेशका प्रदेश सभा सदस्य जन्नत अन्सारी, जसपाका युवा नेता मुकेश द्विवेदी र नेकपा एकीकृत समाजवादी पार्टीबाट वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी रहेका छन् ।

यस्तै बैठकले पर्साका १३ स्थानीय तहमा गठबन्धनको अवस्था अध्ययन तथा विश्लेषणका लागि नेपाली कांग्रेस पर्साका नेता रामनारायण कुर्मीको संयोजकत्वमा जिल्ला स्तरीय उपसमिति गठन गरेको छ ।

उक्त समितिको सदस्यमा नेपाली कांग्रेसबाट अशोक गुप्ता, जसपाबाट तबरेज अहमद, जनार्दन यादव, ललन द्विवेदी, नेकपा माओवादी केन्द्रबाट शेखचाँद तारा र छोटेलाल यादव र नेकपा एकीकृत समाजवादी पार्टीबाट गङ्गा बहादुर खड्का रहेका छन् ।

बैठकलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले गठबन्धनलाई हरेक स्थानीय तहमा जित दिलाउनुपर्नेमा जोड दिए । केन्द्रीय गठबन्धनको निर्णयबमोजिम पर्सा जिल्लामा पनि गठबन्धनको पवित्रतालाई जोगाउन र गठबन्धनको मर्यादा कायम राख्नुपर्ने सांसद यादवको भनाई छ । वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंह र नेपाली उपमेयरमा इम्तियाज आलमलाई मतदान गर्न गराउन र गठबन्धनका उम्मेदवारलाई बहुमतले विजयी बनाउन सबै लाग्न पनि उनले आग्रह गरेका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुश्वाह, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एसका नेता चिरञ्जीवी आचार्य लगायतको उपस्थिति रहेको जसपा निर्वाचन प्रचार प्रसार समितिका संयोजक एवम् जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*