नेपाल एयरलाइन्सको साउदी उडान सुरु

हेटौंडा खबर
April 27th, 2022

नेपाल एयरलाइन्सले काठमाडौंबाट साउदीको रियादसम्म सिधा उडान सुरु गरेको छ। रियादका लागि निगमको वाइड बडी ए३३० विमानले गत शुक्रबार पहिलो उडान भरेको हो। साउदीसँग कूटनीतिक सम्बन्ध स्थापनाका ४५औं वर्षका अवसरमा नेपालले राष्ट्रिय ध्वजावाहकले समेत दुुई देश जोडेको हो।

नेपाल एयरलाइन्सले साउदी उडान सुरु गरेको उपलक्ष्यमा रियादस्थित होटेल र्‍याडिसन ब्लुमा भव्य कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरणमा र बजार विस्तारमा निगम लागिपरेको बताए। उनका अनुसार पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा उक्त उडान प्रबन्ध मिलाइएको हो।

पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले निगमले काठमाडौं–रियाद उडान  सुरु गर्नु ऐतिहासिक दिन रहेको बताए। साउदीस्थित नेपाली कार्यवाहक राजदूत दिलीप पौडेलले राष्ट्रिय ध्वजावाहक उडान सञ्चालनका  लागि धेरै समयको मेहनतबाट सफल भएको अवगत गराए। ‘यसले साउदी अरब र नेपालबीचको कूटनैतिक सम्बन्ध थप प्रभावकारी हुँदै जानेछ’, उनले भने, ‘साउदीमा कार्यरत करिब चार लाख नेपालीले उडानको समयमा भोग्नु परेको समस्या समाधानसमेत भएको छ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले साउदी उडान उचित गन्तव्य रहेको उल्लेख गर्दै यसले निगमलाई आर्थिक रूपमा टेवा पुग्ने धारणा राखे। एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले  उडान सुरु हुँदा सम्पूर्ण नेपालीमा खुसीयाली छाएको बताए।

काठमाडौंबाट रियाद उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले स्लट पाएका छन्। काठमाडौं–रियाद उडान अवधि ६ घण्टा १५ मिनेट हुनेछ। रियाद–काठमाडौं भने ४ घण्टा ५० मिनेटमा पुगिनेछ। निगमले रियादका लागि सातामा तीन उडान भर्नेछ। साउदीको नागरिक उड्डयन कार्यालयले जेद्दा र दमाममा पनि उडानका लागि नेपाल एयरलाइन्सलाई अनुमति दिएको छ। निगमका अनुसार ती बाँकी दुुई सहरमा चाँडै उडान सुरु गरिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*