भारतबाट विद्युत् आयात शून्य, उद्योगले पाएनन् बिजुली
भारतबाट विद्युत् आयात गर्न नसक्दा औद्योगिक क्षेत्रले बिजुली पाएका छैनन् । अझै केही दिन उद्योगहरूले बिजुली पाउने छैनन् ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार भारतको बिहार क्षेत्रमा प्रसारणलाइन मर्मतका कारण बिजुली आयात हुन सकेको छैन । सोही कारण उद्योगहरूले बिजुली नपाएका हुन् । यो समस्या अझै केही दिन रहने उनले बताए ।
“उहाँहरूले शुक्रबारसम्ममा मर्मत सकिने भन्नुभएको छ । भनेको समयमा मर्मत सकिए अगाडि पनि विद्युत् आयात हुनसक्छ । नभए ५/६ दिन पनि लाग्न सक्छ,” उनले भने ।
उद्योगहरूले बिजुली नपाउँदा उत्पादन प्रभावित भएको उद्योगी प्रदीप मुरारकाले बताए । आफूहरूले ‘अल्टरनेट’ गरेर विद्युत् दिन आग्रह गरेको तर प्राधिकरणले नसुनेको गुनासो उनले गरे ।
“कुनै दिन एक ठाउँमा, कुनै दिन अर्को ठाउँमा उद्योगहरूमा विद्युत् दिएर भए पनि उत्पादनमा सहजीकरण गर्न आग्रह गरेका छौँ । तर, प्राधिकरणले हाम्रो कुरा नै सुनेको छैन,” उनले भने ।
उद्योगीले विद्युत् दिन गाह्रो भएको भए उद्योगका लागि बिजुली आउने तालिका दिन आग्रह गर्दा पनि नदिइएको गुनासो गरेका छन् ।

