मकवानपुरमा ७ जना उम्मेदवार विरुद्ध उजुरी

हेटौंडा खबर
April 27th, 2022

मकवानपुरको १० स्थानीय तह मध्ये ३ स्थानीय तहका ७ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ ।

हेटौंडा उपमहानगरपालिकामा नेपका एमालेको तर्फबाट ४ नम्बर वडा अध्यक्षका उम्मेदवार नविन सिग्देल र १९ नम्बर वडाका वडाअध्यक्षका उम्मेदवार नरनाथ सुवेदी विरुद्ध उजुरी परेको हेटौंडा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका -४ का वडा अध्यक्षका उम्मेदवार सिग्देललाई अबैधानिक उपभोक्ता समिति गठन गराई राज्य कोषको रकम निकाशा गरेको आरोपमा उजुरी परेको हो भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नरनाथ सुवेदी माथि करछलीको आरोपमा उजुरी परेको हो ।

त्यस्तै जिल्लाको बकैया गाउँपालिकामा ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए । उजुरी पर्नेमा नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्षका उम्मेदवारी दिएका छावा अधिकारी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका भक्त बहादुर खत्री विरुद्ध उजुरी दर्ता भएको छ । त्यस्तै गाउँपालिकाको ५ नम्बर वडाका नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध उजुरी दर्ता भएको छ ।

त्यस्तै मनहरी गाउँपालिकाका २ उम्मेदवार विरुद्ध उजुरी परेको छ । नेकपा एकिकृत समाजवादीबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी मनिला विष्ट विरुद्ध उजुरी परेको हो भने ३ नम्बर वडाका उम्मेदवार नेपाली काँग्रेसका अनन्त प्रसाद अर्याल माथि उजुरी परेको हो ।

गाउँपालिका भित्र बेरुजु र अक्तियारको मुद्दा छानविन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै विष्ट विरुद्ध उजुरी परेको हो भने विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित काँग्रेसका अर्याल माथि उजुरी परेको हो ।

उजुरी परेका उम्मेदवारहरुलाई स्पष्टीकरण सोधिएको र स्पष्टिकरणसमेत आइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारहरु विरुद्ध परेको उजुरी उपर छानविन भैरहेको बताइएको छ । यदि आरोप पुष्टि भए उनीहरुको उम्मेदवारी खारेज हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*