केन्द्रमा गठबन्धनको नीति, जिल्लामा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी

हेटौंडा खबर
April 4th, 2022

सत्तागठबन्धनमा रहेका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रबीच नै जिल्लामा मुख्य प्रतिस्पर्धा रहेको पाइएको छ। ३० वैशाखको स्थानीय निर्वाचनकेन्द्रित भएर दलहरूले गरेको तयारीलाई हेर्दा सिन्धुपाल्चाेकमा यस्तो अवस्था देखिएको हो। विभाजनको सिकार बनेको एमालेलाई भने विरासत जोगाउन कठिन हुने देखिन्छ।

कांग्रेस र माओवादी केन्द्रले केन्द्रीय तहमा गठबन्धनको निर्णय गरिसकेका छन्। तर, जिल्लामा गठबन्धन गरेर जानेबारे खासै ठोस काम भने केही भएको छैन। चुनावी गठबन्धनबारे गत हप्ता माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पहिलोपटक सामान्य छलफल भएको थियो। छलफलले कांग्रेससँग वार्ता गर्ने निर्णय गरेको थियो।

गत निर्वाचनमा जिल्लाका तीन स्थानीय तह जितेको कांग्रेस यसपटक १२ मध्ये कम्तीमा आधा स्थान जित्ने महत्वाकांक्षामा छ। त्यसैगरी दुई स्थानीय तह जितेको माओवादी केन्द्र एमाले कमजोर भएको मौकामा एकीकृत समाजवादीसँग तालमेल गरेर ६ वटासम्म जित्ने दाबी गरिरहेको छ। कांग्रेस र माओवादीको आ–आफ्नै महत्वाकांक्षाले केन्द्रीय नीति ओझेलमा परेको छ। सात स्थानीय तह जितेको एमाले साख कसरी जोगाउने भन्ने चिन्तामा छ। एमालेमा रहँदा संगठनलाई बलियो बनाउन योगदान गरेका राष्ट्रिय सभा सदस्य सिंगबहादुर विक, पूर्वसांसद सुवास कर्माचार्य, नेताहरू भगवती नेपाल, सोम सापकोटा, उपेन्द्र तामाङ, गम्भीरलाल श्रेष्ठलगायत नेता–कार्यकर्ता एकीकृत समाजवादीमा र बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको टिम कांग्रेसमा प्रवेश गरेकाले एमाले कमजोर बनेको हो।

केन्द्रीय नीतिअनुसार कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न सकेको छैन। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको एकपटक अनौपचारिक बैठक भए पनि खासै केही निर्णय भएको छैन। कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, माओवादी केन्द्रीय सदस्य माधव सापकोटा, कांग्रेस जिल्ला सभापति जंगबहादुर तामाङ र माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीबीच पनि अनौपचारिक बैठक बस्यो। ‘हामीबीच अनौपचारिक बैठकचाहिँ भयो। तर, ठोस कुराकानी केही भएको छैन,’ केन्द्रीय सदस्य सापकोटाले भने। केन्द्रीय नीतिअनुरूप नै गठबन्धनको तयारी भइरहेको उनले बताए। यद्यपि, बलियो रूपमा रहेको कांग्रेसले गठबन्धन गर्दाको नाफाघाटालाई कार्यकर्तामार्फत टिपोट गरिरहेको छ।

माओवादी केन्द्रले जितेको भोटेकोसी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी तथा कांग्रेसले जितेको सुनकोसी र हेलम्बु गाउँपालिकामा कांग्रेस बलियो रहेको आ–आफ्नै दाबी छन्। कांग्रेसले जितेको इन्द्रावती साबिकजस्तो छैन। एमालेसँग पराजित भएको लिसंखुपाखर र बलेफीमा माओवादी केन्द्रले आफू बलियो रहेको दाबी गरिरहेको छ। एमालेसँग दोस्रो भएको बाँकी सबैमा आफू बलियो रहेको कांग्रेसको दाबी छ।

कांग्रेस र माओवादी केन्द्रले आफू बलियो रहेको दाबी पेस गरिरहँदा एकीकृत समाजवादीले कुनै पनि स्थानमा दाबी गर्न सकेको छैन। माओवादी एकीकृत समाजवादीलाई सम्मानजनक सिट दिएर जान चाहन्छ। कांग्रेसले त्यसो नगर्दा सुरुमै गठबन्धनमा समस्या आएको छ। गठबन्धनको अवस्था हेरेर एमाले नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा समाहित हुन बाटो कुरिरहेका छन्। चुनावको सन्निकटमा धेरै एमाले नेता–कार्यकर्ता आफ्नो पार्टीमा आउने एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटाको दाबी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*