दिपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

हेटौंडा खबर
April 4th, 2022

दिपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो ।नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ५ चौकाको सहयोगमा ५४ रन बनाए । दिपेन्द्रले योसँगै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।  नेपालका लागि करण केसीले ३३ रन बनाए । १२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे ।


यसअघि नेपालले पाँचौं ओभरको चौथो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेललाई पीएनजीका कबुआ मोरेवाले २५ रनमा क्याच आउट गराए। रोहित कुमार पौड्यल नेपालको दोस्रो विकेटको रुपमा पेवेलियन फर्किए । रोहितलाई रिने हेकुरेले २ रनमा क्याच आउट गराए ।१२औं ओभरमा नेपालले तीन विकेट गुमायो ।

१२औं ओभरको पहिलो बलमा आसिफ शेखलाई सेमो कोमेआले २६ रनमा क्याच आउट गराए । सोही ओभरको तेस्रो बलमा सेमोले नै आरिफ सेखलाई खाता खोल्न नपाउँदै क्याच आउट गराए । यसै ओभरको पाचौं बलमा दिलीप नाथलाई सेमोले बोल्ड आउट गराए ।१६औं ओभरको अन्तिम बलमा नेपालले आफ्नो छैटौं विकेट गुमायो ।

आदिल अन्सारीलाई पीएनजीका काड सोपरले १५ रनमा क्याच आउट गराए । सिरिजको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ ।पीएनजीले नेपालसँग सिरिजको दुई खेलमा हार ब्यहोरेको थियो । त्यसैले पीएनजी आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । तर, बलियो टोली नेपालविरुद्ध पीएनजीलाई जित निकाल्न सहज भने छैन् । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*