हेटौंडाको मेयर र उपमेयरका उम्मेदवार छान्न एमालेको बैठक चल्दै

हेटौंडा खबर
April 10th, 2022

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको बैठक आज बसिरहेको छ ।

बैठकले आसन्न निर्वाचनका लागि एमालेबाट हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदका उम्मेदवार टुङ्ग्याउने जनाइएको छ । हेटौँडाको मेयर र उपमेयर पदका उम्मेदवार सर्वसम्मतिबाट टुङ्ग्याउने गरि बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकामा मेयर पदका लागि एमालेभित्र ७ जना आकाङ्क्षी छन् । एमालेबाट पूर्व संविधानसभा सदस्यदेखि जिल्ला सचिवालय समितिका सदस्य गरी सात जनाले मेयरमा आकांक्षा व्यक्त गरेका छन् ।

२०७० सालमा निर्वाचित संविधानसभाका सदस्य अनन्त पौडेलदेखि एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्यहरू मदनकुमार दाहाल र ध्रुव प्रसाद चौलागाई, बहालवाला मेयर हरिबहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना र एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पनि मेयरमा आकांक्षा देखाएका छन् ।

पछिल्लो समय मकवानपुरको राजनीतिमा संविधानसभा सदस्य पौडेल र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एमालेका लागि अभिभावकीय र निर्णायक भूमिका खेल्दै आएका छन् । मेयर पदका उम्मेदवार चयनमा पनि उनीहरूको भूमिका निर्णायक हुने बताइएको छ ।

संविधानसभा सदस्य पौडेलले मेयर पदमा आकांक्षा व्यक्त गरेपछि उम्मेदवार छनौटमा समस्या देखिएको एमाले नेताहरू बताउँछन् ।जिसस मकवानपुरका प्रमुख खुलाल पूर्वमुख्यमन्त्री पौडेलको पहिलो रोजाईका पात्र हुन् । पूर्वमुख्यमन्त्री पौडेल निकटकै केन्द्रीय सदस्य रानाले पनि मेयर बन्ने आकांक्षा देखाएपछि भने एमालेभित्र समस्या देखिएको छ ।यता अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै हेटौँडाको मेयर बनेका महत आफ्ना अधुरा काम पुरा गर्न भन्दै थप एक कार्यकाल आफूलाई अवसर दिनुपर्ने तर्क गर्दै आएका छन् ।

५ जनाको उपमेयर बन्ने इच्छा

हेटौँडाको उपमेयर पदका लागि एमालेबाट पाँच जनाले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । उपमेयर पदका लागि अनेम संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, मेनुका दाहाल लगायतकाले इच्छा व्यक्त गरेका छन् ।

मेयर र उपमेयर पदका उम्मेदवारहरु आ–आफ्नो दाबी कसेर बसेकाले सहमति हुन सक्ने अवस्था नरहेपछि शनिबार बसेको उपमहानगरपालिका कमिटीको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्नेहरू एक–अर्कालाई सहयोग गरेर जाने अवस्था अझै नबनेकाले उम्मेदवार छनौट पनि निर्वाचन प्रक्रियाबाट गर्नुपर्ने अवस्था आएको नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीका नेता बताउँछन् । एक अर्कालाई सहयोग गर्ने अवस्था नबनेको खण्डमा निर्वाचन प्रक्रियाबाट उम्मेदवार छनौट गरेर जिल्ला कमिटीमा सिफारिस गर्ने तयारी रहेको उनले बताए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*