इन्टरनेट अवरुद्ध हुन नदिने मन्त्री कार्कीको भनाइ

हेटौंडा खबर
May 3rd, 2022

चुनावका बेला इन्टरनेट काटिने विषय बाहिर आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कुनै पनि हालतमा त्यसो हुन नदिने बताएका छन् । सोमबार साँझ इन्टरनेट सेवा प्रदायकहरूसँगको भेटघाटमा उनले सेवा प्रदायकका समस्या समाधानमा सहजिकरण गर्ने आश्वासन दिएका थिए ।

‘उहाँले सकारात्मक कुरा गर्नु भएको छ,’ इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का पूर्वअध्यक्ष एवं भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहराले भने, ‘सचिवज्यू, प्रवक्ताज्यू सबैसँग कुरा भयो । सबैले सहजिकरण गर्ने बताउनु भएको छ ।’

मन्त्रालयले विदेशी मुद्रा सटहीका लागि सिफारिस नगरेकाले सेवा प्रदायकहरूले भारतीय कम्पनीलाई ब्यान्डविथ खरिदबापतको रकम तिर्न सकेका थिएनन् । उनीहरूले टाटा, एयरटेल लगायत कम्पनीबाट ब्यान्डविथ किन्ने गरेका छन् । विगत ६ महिनादेखि ब्यान्डविथको पैसा नपाएपछि ती कम्पनीले इन्टरनेट काट्न खोजेका थिए ।

सेवा प्रदायकहरूले शनिबार विज्ञप्ती निकालेर आउने हप्तादेखि देशभर इन्टरनेट सेवा उपलब्ध नहुन सक्ने चेतावनी दिएका थिए । चुनावको मुखमा देश इन्टरनेट विहिन भए त्यसको दोषी सरकार हुने उनीहरूको भनाइ थियो । सञ्चार मन्त्रालयले भने सेवा प्रदायकले बेरुजु रकम चुक्ता नगरेकाले डलर सटहीमा सहयोग नगरेको बताएको थियो ।

महालेखापरीक्षकको कार्यालयले सञ्चार मन्त्रालयका नाममा वार्षिक अर्बौं रकम बेरुजु देखाइरहेको छ । इन्टरनेट सेवा प्रदायकले मर्मतसम्भारबापत्को कर नतिरेकाले बेरुजु देखिएको र त्यो तिर्नैपर्ने मन्त्रालयको भनाइ थियो । अब भने बेरुजुको विषय समाधान गर्न सेवा प्रदायकले तत्परता देखाउने र मन्त्रालयले डलर सटहीमा सहजिकरण गरिदिन समहमती भएको बुझिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*