चुनावका दिन देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना

हेटौंडा खबर
May 8th, 2022

स्थानीय निर्वाचनका दिन देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै ३० वैशाखका दिन देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको बताएको छ ।

विभागका अनुसार, चुनावका दिन प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हलुका वर्षाको सम्भावना छ।

अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा विकसित न्यून चापीय प्रणालीका कारण पानी परिरहेको छ। दक्षिण बंगालको खाडीमा असानी नामको चक्रवात विकसित भइरहेको र उक्त प्रणाली उत्तरपश्चिम भारततर्फ सर्ने क्रममा रहेकाले त्यसको आंशिक प्रभाव नेपालमा पनि पर्नसक्ने विभागले जनाएको छ।

विभागका अनुसार, २८ वैशाख बुधबारदेखि नै देशभरि सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ। २८ र २९ वैशाखमा देशका विभिन्न स्थानमा हलुकादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ।

विभागले मौसम प्रणालीका कारण मतदान र चुनावी गतिविधिमा पर्नसक्ने प्रभावबाट जोगिन सतर्कता अपनाउन आग्रह पनि गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*