हेटौंडामा अनलाइन जुवा खेल्ने अड्डा, ११ जना पक्राउ

हेटौंडा खबर
June 28th, 2022

मकवानपुर प्रहरीले हेटौंडामा अनलाइन जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडा डेरी गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले हेटौंडामा कम्पनि नै खोलेर अनलाइन जुवा खेल्ने अड्डा फेला परेको जनाएको छ । हेटौंडा-४ स्थित रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिएर सूर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नामको कम्पनी सञ्चालन गरेर अनलाइन जुवा खेलाउने अड्डा पत्ता लागेको मकवानपुरले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त स्थानबाट हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्यसहित ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाको २४ वर्षीय राजीव गौतम, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२, पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४, मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्का रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १० थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर, ४ थान राउटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार, कम्पनीका संचालक कुलदीप पाठक भने हाल फरार छन् । उनको खोजी गर्नुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ  । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार कार्वाही प्रकृया अघि बढाईएको मकवानपुर प्रहरी पव्रवक्ता टेकबहादुर कार्कीले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*