भारतमा ९० प्रतिशतले बढ्यो कोभिड-१९ संक्रमण, २१४ जनाको मृत्यु

हेटौंडा खबर
५ बैशाख २०७९, सोमबार १५:०५

भारतमा सोमवार कोभिड-१९ को नयाँ संक्रमणमा अत्यधिक वृद्धि भएको छ। आइतवारको तुलनामा सोमवार कोभिड-१९ को नयाँ संक्रमणमा ९० प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

सोमवार २४ घण्टाको अवधिमा २ हजार १८३ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। जुन आइतवारको भन्दा १ हजार ३३ जनाले बढी हो।

करिब एक महिनापछि पहिलो पटक भारतमा एकै दिन २ हजारभन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएको हो। यसअघि मार्च १९ मा २०७५ नयाँ संक्रमण देखिएको थियो।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१४ जनाको कोभिड-१९ का कारण मृत्यु भएको बताइएको छ। जसमा केरला राज्यमा २१२ मृत्यु रिपोर्ट गरिएको छ। कुल मृत्युको संख्या ५ लाख २१ हजार ९ सय ६५ पुगेको छ ।

भारतमा हाल ११ हजार ५४२ सक्रिय संक्रमित रहेको बताइएको छ। जुन कुल संक्रमणको ०.०३३ प्रतिशत हो। आइतवार ०.३१ प्रतिशत संक्रमण दर रहेको भारतमा सोमवार बढेर ०.८३ प्रतिशत पुगेको छ। त्यस्तै, हाल साप्ताहिक संक्रमण दर ०.३२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९८५ संक्रमित निको भएका छन्। निको हुनेको कुल संख्या ४ करोड २५ लाख १० हजार ७७३ पुगेको छ।

राजधानी दिल्लीमा कोरोना संक्रमण चिन्ताजनक रुपमा वृद्धि भएको छ। दिल्लीमा अनिवार्य मास्क तथा करिब दुई वर्षपछि शहरका विद्यालयहरूमा व्यक्तिगत कक्षाहरू पूर्ण रूपमा पुनः सुरु भएसँगै कोरोना संक्रमण बढेको बताइएको छ।

दिल्लीमा सोमवार ५१७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। जुन अघिल्लो दिन ४६१ जना थियो। यस वर्षको फेब्रअरी २० पछि यो संख्या सबैभन्दा उच्च संक्रमण हो। अन्य राज्यहरूको तुलनामा केरलामा सबैभन्दा धेरै ९४० जनामा संक्रमण पुष्टि भएको छ।

भारतमा विगत केही हप्ताहरुमा संक्रमण घटेको थियो। त्यसअघि जनवरीमा तेस्रो लहरका कारण दैनिक संक्रमण ३ लाख माथि पनि पुगेको थियो।

चीन तथा जर्मनी, फ्रान्स र इटालीलगायत युरोपेली मुलुकहरुले नयाँ संक्रमणको सामना गरिरहेका बेला भारतमा पनि सुरक्षा रणनीतिहरु नहटाउन स्वास्थ्यविद्हरुले चेतावनी दिएका छन्। अत्यावश्यक वस्तुको अभावमा बढ्दो जनआक्रोशका बिच चीनमा ‘शून्य कोभिड नीति’ले पनि सबैभन्दा ठूलो परीक्षाको सामना गरिरहेको छ।

साथै, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अत्यधिक संक्रामक मानिएको ‘एक्सई’ भेरियन्टमा अलर्ट रहन पनि सुझाव दिएको छ। यो भेरियन्टको दुई वटा केसहरू मुम्बई र गुजरातका सरकारी अधिकारीहरूले रिपोर्ट गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*