हेटौंडामा बागमती प्रदेश सरकारको गौरबको आयोजना अलपत्र

बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा सुरु भएका ठुला योजना अधुरा र अलपत्र पर्ने क्रम बढ्दै गएको छ। प्रदेशका अन्य जिल्लामा मात्र होइन, प्रदेश राजधानी रहेकै जिल्लामा निर्माण सुरु भएका प्रदेश सरकारका ठुला लगानीका पूर्वाधार निर्माण योजना अलपत्र बनेका छन्।
त्यो पनि मुख्यमन्त्री कार्यालयको नजिकै रहेको प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभा हलको निर्माण अढाई वर्षदेखि अलपत्र बनेका हो। प्रदेश सभाको भवन निर्माण सुरु भएको लामो समय भइसक्दा पनि अझै पूर्णता पाउन सकेको छैन।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सभा हल निर्माण स्थल हेटौँडा उपमहानगरपालिका कार्यालय र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बिचमा रहेको छ। मुख्यमन्त्री कार्यालयबाट एक मिनेटमा पुगिने सभा हल निर्माण स्थल अगाडिको बाटो भएर मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिवलगायतका उच्च अधिकारी दैनिक आवतजावत गर्छन् तर तोकिएको समयमा निर्माण पूरा नहुँदासमेत कुनै चासो र सरोकारको विषय बन्न सकेको छैन।
मन्त्रीपरिषद् कार्यालयको सभा हल १८ महिनामा पूरा गर्ने गरी २०७७ मङ्सिर १० गते हेटौँडा उपमहानगरपालिका कार्यालयले भोगचलन गर्दै आएको हेटौँडा–२ मा शिलान्यास गरिएको थियो। निर्माण कम्पनी संरक्षण इन्जिनियरिङ कन्स्ट्रक्सन जेभीले शिलान्यासको समयमा तोकिएको समयमा निर्माण पूरा गर्ने बताए पनि अहिलेसम्म सभा हलको डिपीसी गरी फलामे पोल मात्रै ठड्याइएको छ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले सभा हल शिलान्यास गर्दै प्रदेश राजधानी हेटौँडामा ठुला कार्यक्रम आयोजना गर्न सुविधा सम्पन्न सभा हल आवश्यक रहेकाले यो सभा हल निर्माणले गर्न लागिएको बताउनुभएको थियो। तर पौडेलपछि तीन जना मुख्यमन्त्री बन्नुभए पनि सभा हल निर्माण अधुरै रहेको छ। यस अवधिमा एक जना राज्यमन्त्री र चार जना भौतिक पूर्वाधार विकासमन्त्री फेरिइसक्नुभएको छ। हल निर्माण नहुँदा अझै प्रदेशका साना कार्यक्रमसमेत महँगा होटलमा गरिन्छ।
निर्माण कम्पनीका कारण लामो समयदेखि अलपत्र बनेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालयले निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको जनाइएको छ। सहरी विकास तथा भवन कार्यालयका प्रमुख घनश्याम श्रेष्ठले निर्माण कम्पनीका कारण सभा हल समयमा निर्माण हुन नसकेको दाबी गर्नुभयो। निर्माण कम्पनीले सरकारसँग पेस्की रकम लिएर पनि सम्झौता र प्रतिबद्धता अनुसार काम नगरेको भन्दै उहाँले विभिन्न बहानाबाजी गरेर तोकिए अनुसारको काम नगर्दा अहिले समस्या देखिएको बताउनुभयो।