एमालेले वैशाख ९ मा स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने

हेटौंडा खबर
March 21st, 2022

नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो।

बैठकमा पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणा पत्र र सबै स्थानीय तहहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिए। एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ।

स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस  गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ। त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ।

प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाका मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताए। उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले निर्णय गर्नेछ। विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ।

त्यसैगरी लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताए। पार्टीमा प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि आवश्यक विभागहरु गठन गर्ने अनुमति आवश्यक्ता अनुसार प्रदेश र जिल्ला कमिटीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*