८ महिनामा १६.३ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिती

हेटौंडा खबर
April 12th, 2022

चालु आर्थिक वर्षको ८ महिनामा (साउनदेखि फागुन मसान्तसम्म)मा वैदेशिक विनिमय सञ्चिती १६.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

२०७८ असार मसान्तमा  १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिती १६.३ प्रतिशतले घटेर २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको हो।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.२ प्रतिशतले घटेर १० खर्ब १८ अर्ब ५ करोड कायम भएको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ फागुन मसान्तमा ०.९ प्रतिशतले घटेर १ खर्ब ५२ अर्ब ९५ करोड कायम भएको छ।

२०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

फागुन मसान्तसम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

२०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेका छन्। २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*