नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौंले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रको आज एक कार्यक्रमका बिच प्रदेश २ का प्रदेशसभा सदस्य शुन्दर बिश्वकर्माले उद्घाटन गरे ।
गत मंसिरमा वडा कार्यालयले औराहमा आयोजना गरेको आँखा जाँच शिविरमा बिरामीको चाप अत्याधिक भएपछी यस क्षेत्रमा आँखा अस्पतालको आवश्यकता महशुस गरी उपचार केन्द्र सञ्चालनको प्रकृया थालनि भएको वडा अध्यक्ष ईश्वर खत्रीले बताए ।
अस्पताल स्थापनाका लागि यस क्षेत्रका समाजसेवी कासिम मियाले पाँच कठ्ठा जग्गा समेत दान गरेका छन् । सोही जग्गामा अस्पतालको निजि भवन निर्माण प्रकृया समेत सुरु भईसकेको भन्दै उनले भवन निर्माण नभए सम्मको लागि हाल घर भाडामा लिएर सेवा सुचारु गरिएको बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेले उपचार केन्द्रमा अत्याधुनिक प्रबिधिबाट आँखाका बिरामीहरुको सम्पूर्ण प्रकारको उपचार गरीने बताए ।
नेपाल आँखा अस्पतालका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीको अध्यक्षता एवम् प्रदेश सांसद बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा समाजसेवी, बुद्धिजिवी, बिभिन्न राजनितिक दलका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।