गत २१ फागुनमा बुटवलको रानीगन्जमा मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लेखेटेको घटनालाई लिएर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको एकसाथ सरुवा गरिएको छ ।
सो घटनाबारे पूर्वजानकारी राख्न नसकेको र सुरक्षा दिन नसकेको भन्दै उनीहरु तीनै जनालाई जिम्मेवारीबाट हटाइएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रहरी उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँलाई जिम्मेवारीबाट हटाएको हो ।
गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई रुपन्देही पठाएको छ । यसैगरी, प्रहरी उपरीक्षक पोखरेलको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत मनोज केसी पठाइएका छन् । यसैगरी सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीलाई पठाइएको छ । उप्रेती यसअघि १ नम्बर बाहिनीमा कार्यरत थिए ।
प्रमुख जिल्ला अधिकारी घिमिरे र एसपी पोखरेल त्यहाँ गएको आठ महिनामात्रै भएपनि सशस्त्रका एसपी खनियाँ गएको भने दुई महिना मात्रै भएको थियो । उनी डोटीको गणपति हुँदाहुँदै शक्तिकेन्द्रको आडमा रुपन्देही पुगेका थिए ।