देश सङ्घीय शासन प्रणालीमा चलेको छ। एक राज्यमा दुई वा दुईभन्दा बढी तहका सरकार रहेको राजनीतिक प्रणाली वा शासन व्यवस्था नै सङ्घीय शासन प्रणाली हो । मुलकमा अहिले ३ तहका सरकार छन्। यी तहगत सरकारको संवैधानिक स्वायत्तता छ । सङ्घीयतामा केन्द्र र त्योभन्दा तलका इकाइ संविधानले व्यवस्था गरेका क्षेत्राधिकार र अधिकारमा स्वतन्त्र हुन्छन्।
सङ्घीय सरकार एकात्मक सरकारभन्दा बढी सहभागितामूलक र प्रतिनिधिमूलक हुन्छ त्यहाँ शक्तिको बाँडफाँट हुने गर्छ। सङ्घीयतामा जनताको अपनत्व र स्वामित्व तुलनात्मक रूपमा बढी हुने विश्वास गरिन्छ। यसले साझा मान्यतालाई संस्थागत गर्नुपर्ने तथ्य अवलम्बन गरेको हुन्छ। राज्यको शासन एकात्मक हुदा जनताले पाएको दुख र अशान्तिले आक्रान्त नागरिकको पिडाबाट देशमा गणतन्त्र जन्मियो।
अलि अगाडीकै कुरो गरौँ। पृथ्वीनारायण शाह मात्र होइन, उनी भन्दा अगाडिका राजाहरुले पनि आफूँलाई महासामन्तको घोषणा गरे । सामन्त हुनु ठूलो मानिन्थ्यो । काम गर्ने सानो, काम नगर्ने ठूलो मानिन्थ्यो । पृथ्वीनारायण शाह र उनका भाई छोराले छलफल र वहसवाट भन्दा पनि जबर्जस्त लडाई जीतेर २२ से २४ से राज्य माथि शासन चलाए । राणाहरुले पनि १०४ वर्ष एकतन्त्री निरङ्कुश जहानीमा स्वेच्छाचारी शाशन चलाए ।
२००७ सालमा जनताको आन्दोलनबाट केही प्रजातान्त्रिक एवं जनवादी शाशनका कुरा अगाडि आएपनि राजा महेन्द्रले निरङ्कुश राजतन्त्रको बलियो जग बसाए । २०४६ पूर्व आधारभूत रुपमा सामन्तवादी राजनीति अर्थनीति र सँस्कृतिकै अधारमा निरङ्कुश शासन चलाइए, विधि विधान र नीतिहरु त्यही अनुसार बनाइयो । जनता हक अधिकारबाट वन्चित भए । काम गर्ने कालु मकै खाने भालु भयो । बिस्तारै परिवर्तन सुरु भए। ०६२-०६३ को आन्दोलनमा केही आन्दोलनकारीहरुले जातीय राज्य, भाषिक राज्य, धार्मिक राज्यको माग गरे, संघीय राज्यको माग गरे । स्वायत्तता को माग गरे । संघीयता अनिवार्य जस्तै भयो । संघीय गणतन्त्रको संविधान जनताबाट निर्वाचित संविधान सभाका सभासदहरुको हस्ताक्षरबाट, गडगडाहट तालिका बीचबाट पारित भयो । तात्कालीन सम्माननीय राष्ट्रपति रामवरण यादवज्यूबाट लालमोहर लाग्यो ।
अहिले देशमा ३ तहका सरकार चलिरहेका छन्। यिनको आआफ्नै क्षेत्रधिकार छ। आआफ्नै नीति नियम कानुन छ।
मैले भन्न खोजेको के भने, त्यो निरङ्कुश, त्यो सामन्ती साशन, त्यो एकाधिकार अहिले कहिँ कतै नदेखियोस। देशमा संघियता आएसंगै, गाउँगाउँमा स्थानिय सरकार बनेपछि जनताले सुखैसुख पाउछन् भन्ने भ्रम त फैलियो। तर आफ्नै गाउँको सरकारबाट अझै जनता खुसि हुन सकेका छैनन्। अझ स्थानिय सरकार हाक्नेले राज्य नै मेरो हो मैले जे गर्दा नि पाउछु भन्ने हुकुमे शैलीले भने कहिलेकाही निरास तुल्याउछ।
कुरा गरौँ हेटौंडाको । गत शनिबार हेटौंड़ा उपमहानगरपालिकाको सवारी डिभिजन बन कार्यालयको नियन्त्रणमा पुगेपछि विवाद उत्पन्न भयो। हेटौंडा १८ को खहरे अबैध रुपमा उत्खनन् गरेकाले ढुंगा,गिट्टी,बालुवा अनुगमन तथा समन्वय समितिको निर्देशनमा डिभिजन बन अधिकृतको टोलीले उपमहानगरपालिकाको २ वटा एक्साभेटर र ३ वटा टिफर नियन्त्रणमा लिएपछि विवाद चुलियो।
यहीक्रममा मेयर हरि बहादुर महतले डिएफओ एमनाथ पौडेललाई फोन गरेर थर्काएको अडियो मिडिया मार्फत सार्वजनिक भयो। मेयरको बोलीमा कुनै अश्लिल शब्द नभएपनि उनले कुराकानी गर्दा उपमहानगरपालिकाको मेयर हुन् भन्ने हैसियत भुलेका देखिन्छ । फोन उठ्ने बित्तिकै सुरुमै के झगडै गर्ने हो त ? के खोजेको ? साच्चिकै जुध्ने नै हो त ? भन्ने किसिमले उनि प्रस्तुत भएका छन्।
उनको बोलीमा १०० प्रतिशत नै नराम्रा चिज छैनन्। तर उनले बिकास निर्माण गर्ने नाममा आफु यो ठाउँको राजा हुँ। मैले कानुनको पालना नगर्दा नि हुन्छ , समन्वय गर्नु आवस्यक छैन र सरकारको गाडी नियन्त्रणमा लिन मिल्दैन भन्ने आसय व्यक्त गरेका छन्।
अर्को कुरा जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाललाई पनि उनले असभ्य भाषा बोलेका छन्। असभ्य भन्नाले अश्लिल भाषा मात्र हुदैन। उपमहानगरपालिकाको मेयरले जिसस प्रमुखलाई २० भोटे र बाह्र बज्नेवाला छ जस्ता शब्द प्रयोग हुनु भनेको असोभनिय छ । यसमा प्राप्त मतको दम्भ झल्किएको छ। जनताले दुख पाए, बिकासको काम हो भन्दै मेयरले जनताको पक्षमा बोलेको जस्तो त देखिन्छ, तर त्यसो भन्दैमा कानुननै मिचेर आफूखुसी गर्न मिल्दैन।
हुनत हाम्रा मेयर साव हक्की स्वभावका छन्, यो सामान्य हो भन्ने तर्क दिनेपनि देखिएका छन्। तर हक्की,झोक्कि हरि बहादुर महत हुन्। मेयरको स्वभाव त्यसो हुनुहुन्न। अडियो सार्वजनिक भैसकेपछि जिसस प्रमुखलाई त त्यसो भन्ने मेयरले जनतालाई कस्तो व्यवहार गर्लान भन्ने तर्क पनि आइरहेका छ।
बनले नियन्त्रण गरेको उपमहानगरपालिकाको सवारी उसैको हातामा बस्दा त्यस्तो भवितव्य आइपर्नेवाला केहि थिएन। र आवेगमै आएपनि खुलालप्रति त्यति तुच्छ हुनु मेयरको सबैभन्दा ठुलो गल्ति हो। व्यवहारिक र राजनीतिक हिसावले पनि मेयर महत र रखुनाथ खुलाल भनेका एउटै पार्टी र एउटै गुट भित्रका व्यक्ति हुन्। त्यो कुरा फोनमा पनि बोलेका छन् मेयरले। त्यो भन्दा अझै व्यवहारिक कुरो मेयरले डि एफ ओ संग त्यस्ता कुरा गर्नुआफ्नो घरभित्रको कुरो बाहिरकालाई सुनाए जस्तै हो।
मेयर हरि बहादुर महत यहाँका जनताले धेरै अपेक्षा गरेका जनप्रतिनिधि हुन्। तर उनको व्यवहार, कार्यपालिका बैठकमा भएका निर्णय कार्यनयन गराउन नसक्नु, कुनै कुरो नसोची बोल्दिनु र पछि पछाडी हट्नु लगायतका कुराले उनले गरेका कामप्रति धेरै सन्तुष्ट छैनन्। त्यो मेयर महतले बुझ्नुपर्छ।
यस घटनाले हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समितिबीच कुनैपनि समन्वय र सहकार्य रहेनछ भन्ने कुरा छताछुल्ल भएको छ। कुरो त्यति ठुलो पनि हैन तर सानो पनि हैन। किनकि आफ्नो पद र आफु के भन्नेकुरो कहिलेकाही थोरै हेक्का नराख्दा सानो चिज ठुलो हुन्छ र त्यसले आम जनमानसमा नकारात्मक प्रभाव पर्न जान्छ। जुन अहिले हेटौंडाका मेयर हरि बहादुर महतलाई छ।
जे होस् , मेयर भएको हैसियतले बिकास गर्न खोजे, तर मै नै यहाँको शेर हु, मैले जहाँ जे गरेनी हुन्छ भन्ने हिसावले। यो प्रवित्ति यहाँको स्थानिय सरकारले त्याग्नुपर्छ। हामि त आफै सरकार हो हामीलाई कसैले छुन मिल्दैन भन्ने हुदैन। त्यसोभए सरकारी सवारीमा लागु औषध बोकेर हिडेपनि कसैले छुन नपाउने हो र ? स्थानिय सरकारले यस्ता कुरालाई मनन गर्नुपर्छ।
र अन्त्यमा मेयर सावलाई अनुरोध। जिसस प्रमुखको त १२ बज्नेवाला छ भन्नुभयो। तपाई २५ हजार भोट पाएरै मेयर हुनुभएको हो। तर त्यहि भोट हाल्नेको चाहिँ स्थानिय सरकारले १२ नबजावोस। स्थानीय सरकार संग नागरिक रुष्ट नबनुन् । जनताको अपेक्षा सहयोग, समन्वय, सहकार्य र सहज वातावरण मात्र हो । मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है।