कांग्रेस मकवानपुरले पुस १३ गते दुई क्षेत्रबाट विरोध प्रदर्शन गर्ने 

हेटौंडा खबर
December 26th, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेसको प्रतिनिधिसभा १ को हेटौंडा उपमहानगरपालिका १६ को हटिया चिसापानी बजार र प्रतिनिधिसभा २ को थाहा नगरपालिकाको पालुङमा यही पुस १३ गते संसद विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरुद्ध र लोकतान्त्रिक संविधानको पक्षमा ¥यालीसहित विशाल विरोध प्रदर्शन गर्न लागिएको काङ्ग्रेस मकवानपुरले जनाएको छ ।

कांग्रेसले देशव्यापीरुपमा १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ गर्ने विरोध प्रदर्शनको आवश्यक तयारीका लागि नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिले हेटौंडा नगरका १९ वटै वडाका सभापति तथा पदाधिकारी बोलाएर शनिबार छलफल गरेको छ ।

नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा आवश्यक तयारीको लागि बसेको बैठकमा जिल्ला सदस्य सुशान्त श्रेष्ठ, प्रतिनिधिसभा १ का सभापति दामोदर खनाल, प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटा, प्रतिनिधिसभा १ को ख का क्षेत्रीय सभापति तारानाथ चौलागाईलगायतले विरोध प्रदर्शन सफल बनाउने बारे धारण राखे ।

बैठक तथा छलफलमा हेटौंडा नगरका कोषाध्यक्ष कविन सांगामी, १९ वटै वडाका सभापति तथा पदाधिकारीहरु, क्षेत्रीय समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*