हेटौंडामा काङ्ग्रेसको बिरोध प्रदर्शन :  “ओलीले जनमतको खिल्ली उडाए”

हेटौंडा खबर
December 28th, 2020

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संसदीय दलकी सचेतक पु्ष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको खिल्ली उडाएको बताएकी छिन् । नेपाली कांग्रेसले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया चिसापानीमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेतृ भुसालले प्रधानमन्त्री ओलीले श्री ५ महाराजको शैलीमा संसद विघटन गरेर तानाशाही लाद्न खोजेको आरोप लगाइन ।

उनले ओलीलाई श्री ५ माहाराज बन्न नेपाली जनताले जनमत नदिएको बताउदै नेपाली कांग्रेस ओलीको असंबैधानिक गतिविधिको साक्षी नबस्ने स्पष्ट पारिन् । नेतृ भुसालले कुनै एक व्यक्तिको लहडले सिर्जित अस्थिरताको भागिदार सबै नेपाली जनताले हुन नमिल्ने बताउँदै प्रतिकारमा उत्रन आग्रहसमेत गरिन् ।

त्यस्तै बिरोध प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले जनताको छोराछोरी राष्ट्रपति हुने गणतन्त्रात्मक ब्यवस्थामै आघात पुग्नेगरी सरकारले जनमतको अपहेलना गरी संसद विघटन गरेको बताए । उनले जनताको मतलाई कम्युनिष्ट सरकारले उपहास गरेको धारणा राख्दै विघटित संसदको पुनःस्थापना नेपाली कांग्रेसको पहिलो प्राथमिकता भएको र कांग्रेस निर्वाचनबाट पनि नभाग्ने स्पष्ट पारे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंबैधानिक कदमलाई सर्वोच्च अदालतले उल्ट्याउने विश्वास समेत व्यक्त गरे ।नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोद खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप पराजुली, सल्लाहकार रिता खनाल, नगर सभापति आनन्दराम पराजुली, हेटौंडा १६ का वडा सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोइराला, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडालगायतले राखेका थिए ।कार्यक्रममा उनाराज रानामगर, अमन श्रेष्ठ, कृष्ण न्यौपानेको नेतृत्वमा ९९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*