हेटौंडामा जारी गोल्डकपको आजको खेलमा बागमती युवा क्लब सर्लाही विजयी

हेटौंडा खबर
March 14th, 2021

हेटौंडामा जारी  स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथो दिनको खेलमा बागमती युवा क्लब सर्लाही विजयी भएको छ ।

आइतबार हेटौंडा–१० फरेस्ट्री खेल मैदानमा भएको खेलमा बागमती युवा क्लबले २–१ गोल अन्तरले बिभागीय टोली एपीएफ क्लबलाई पराजित गरेको हो ।

बागमती युवा क्लबको तर्फबाट जर्सी नम्बर १६ का खेलाडी बिक्रम धिमाल र जर्सी नम्बर १७ का खेलाडी सागर साहीले समान एक–एक गोल गरेका थिए । यस्तै एपीएफ क्लबका जर्सी नम्बर १८ का खेलाडी रवि थिङले पेनाल्टीको सदुपयोग गरी एक गोल गरेका थिए ।

बागमती युवा क्लबका जर्सी नम्बर १६ का खेलाडी बिक्रम धिमाल प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन, भने उप–विजेताले ५ लाख प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।

यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।

प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ६ वटा ए डिभिजन क्लबहरुले सहभागिता जनाएका छन् । त्यस्तै एक विदेशी, एक आयोजक र दुई मोफसलका टोलीहरुले सहभागिता जनाएका छ्न । प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*