हेटौंडा अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै , आइसीयु र जनरल वार्डमा पनि कोभिडका बिरामी
कोरोना संक्रमित बढ्दै गएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा कोभिडका बिरामीको लागि बनाइएको उपचार कक्ष बढाईने भएको छ ।
अस्पताल संचालन तथा व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोभिड -१९को बिरामीको चापलाई धान्न नसक्ने अवस्था आएकाले ओपिडी सेवानै बन्द गरी अन्य वार्डसमेतको प्रयोग गरेर संक्रमितको उपचारका लागि व्यवस्था मिलाउने निर्णय भएको हो ।
प्रतिष्ठानका रजिष्ट्रर राजेश प्रसाईको अध्यक्षमा बसेको बैठकले विश्वभर फैलिदै गइरहेको नयाँ भेरियण्टको कोमिड-१९ को संक्रमण मकवानपुर लगायत छिमेकी जिल्लाहरुमा तिब्ररुपमा फैलिरहेकाले संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि अस्पतालमा हाल संचालन भैरहेको आकस्मीक सेवा, प्रसुती सेवा र ज्वरो क्लिनिक सेवालाई यथावत राखी आइसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्ने निर्णय भएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।
त्यस्तै कोरोना संक्रमितको उपचारमा खटिने आवश्यक जनशक्तिको व्यवस्था मिलाउने जिम्मेवारी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट र नर्सिन प्रमुखलाई दिने निर्णय गरिएको चौलागाईंले बताए ।
त्यस्तै कोभिड -१९ को पिसिआर परिक्षण गरेका बिरामीलाई आफ्नो रिपोर्ट अनलाइन तथा एसएमएसबाट प्राप्त गर्ने सुबिधा छिट्टै मिलाउने लगायतका निर्णय भएको बताइएको छ ।


