जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहालले दोहोरो सरकारी सुविधा उपभोग गरेको खुलासा

हेटौंडा खबर
January 10th, 2022

जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहालले विगत १० महिनासम्म दोहोरो सरकारी सुविधा उपभोग गरेको खुलेको छ । उनले २०७७ फागुनदेखि २०७८ मङ्सिरसम्म दोहोरो सरकारी सुविधा उपभोग गरेका हुन् ।

दाहालले राष्ट्रिय युवा परिषद र भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी बजार विकास कार्यक्रमबाट तलब लिएको पाइएको छ ।

उनले जिल्ला युवा समितिको अध्यक्ष भएपछि मासिक २५ हजार भन्दा माथिको दरले सुेवासुविधा उपभोग गरिरहेका छन् भने विगत ४ वर्षदेखि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी बजार विकास कार्यक्रमको मकवानपुर संयोजक भएर त्यसको पनि  मासिक तलब सुविधा उपभोग गर्दै आएका थिए ।

दाहालले जिल्ला युवा समितिको अध्यक्ष नियुक्त भएपछि पनि सहकारी बजार विकास कार्यक्रमको जिल्ला संयोजकका रुपमा तलब सुविधा उपभोग गरिरहेका थिए ।

दोहोरो तलब सुविधाको विषय बाहिर आउने चाल पाएपछि सहकारी बजार विकास कार्यक्रमको समय अवधि सकिन एक महिना बाँकी रहँदा उनले पदबाट राजीनामा दिए । हाल सहकारी बजार विकास कार्यक्रमको समयावधि पनि समाप्त भइसकेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय र यूएनडीपीको साझेदारी संचालित उक्त कार्यक्रम बागमती प्रदेशको मकवानपुरसहित धादिङ, ललितपुर, काभ्रे, चितवन र नुवाकोटमा संचालित छ । ४ वर्ष संचालनमा रहेको सो कार्यक्रमको गत मंसिर अन्त्यमा समयावधि समाप्त भएको थियो ।

दाहालले आइतबार जिल्ला युवा समिति मकवानपुरको अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । नियुक्त भएको करिव ११ महिनापछि उनले पदभार ग्रहण गरेका हुन् ।

२०७७ फागुनमा नियुक्त भएका दाहालले कार्यालय अभावका कारण पदभार ग्रहण गरेका थिएनन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको पहिलो तलाको एउटा कोठामा आफ्नो कार्यालय स्थापना गरेर उनले पदभार ग्रहण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*