नेपालको हितका लागि एमसिसी आवश्यक : प्रकाशमान सिंह

हेटौंडा खबर
March 9th, 2022

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेका कारण पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका– ३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन्।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर काँग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने।

उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि जिकिर गरे। ‘एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो,’   सिंहले भने, ‘राष्ट्रघाती भए संघीय संसदबाट पास हुन्थ्यो त ? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने ? यसरी त मिल्दैन नि।’ उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेको प्रति आपत्ति जनाए। ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरुले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ।

’ नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्ग नीति बिर्सियो भनेको छ, त्यो विल्कुलै होइन।’ नेता सिंहले अब पार्टीका सबै नेता कार्यकर्ताहरूले नागरिकको घर–घरमा पुगेर वास्तविकता बुझाउँदै काँग्रेस लाई मत दिन काँग्रेस लाई जिताउन लाग्नुपर्ने बताएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*