हेटौंडामा प्रदेश खेलकुद प्रतियोगिता : पुरुष फुटबलमा ललितपुरको विजयी शुरुवात

हेटौंडा खबर
March 13th, 2022

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम प्रदेश खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तरगत ललितपुर जिल्लाले विजयी शुरुवात गरेको छ । आज प्रदेश राजधानी हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा ललितपुर र चितवनबीच भएको खेलमा १–० गोल अन्तरले चितवनलाई पराजित गर्दै ललितपुर जिल्लाले आफ्नो विजयी सुरुवात गरेको हो ।

पहिलो हाफ गोल रहित सकिएपनि खेलको दोस्रो हाफको ६८ मिनेटमा ललितपुरका बसन्त तामाङले गरेको गालेनै ललितपुरका लागि निर्णायक गोल बन्न पुग्यो । सोमबार दुईवटा खेल हुनेछन् । पहिलो खेल रामेछाप र सिन्धुपाल्चोकबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र नुवाकोटबीच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक कल्पना शर्माले जानकारी दिईन्  ।

त्यस्तै आजै हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज ३० वटा खेल खेलाइएको थियो । चितवनले काठमाडौंलाई, काभ्रेले मकवानपुरलाई, ललितपुरले सिन्धुपाल्चोकलाई, रामेछापले दोलखालाई, भक्तपुरलाई धादिङले पराजित गरेको छ । एकल खेलाडी र डबल खेलाडीबीच खेल खेलाइएको थियो ।

महिला तर्फभने चितवन, धादिङ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक,नुवाकोट, मकवानपुर र दोलखा जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहानबाट क्वाटरफाइनलका खेल हुने आयोजकले जनाएको छ ।

मकवानपुरमा आइतबारबाट फुटबल र व्याडम्निटन खेल सुरु भएको छ भने चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा सोमबारबाट भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सुर्यलाल भणडारीले बताए ।

सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल हुनेछ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*