होलीमा लोला हाने र इच्छाविपरीत रङ दले अभद्र व्यवहारमा मुद्दा चलाइने

हेटौंडा खबर
March 15th, 2022

होली पर्वमा जबरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ ।

पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

उनले भने, “होलीका नाममा कसैमाथि पनि जबरजस्ती भएको पाइए प्रहरी कानुनानुसार अगाडि बढ्छ । सबैले पर्वलाई मर्यादित र संयमति रूपमा मनाऔँ । मदिरालगायत अन्य लागुऔषधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइए पनि प्रहरी कडा रूपमा प्रस्तुत हुन्छ ।”कोरोना महामारीका कारण पछिल्ला वर्षहरूमा खुलेर होली पर्व मनाउन नपाएकाले यो वर्ष भिडभाड बढ्न सक्ने प्रहरी बुझाइ छ । काठमाडौंका दर्जनौँ स्थानमा होलीका दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै आएका छन् ।

यो वर्षको होली पर्व काठमाडौंसहित पहाडी र हिमाजी क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ ।होलीमा काठमाडौंमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन हुनेछन् । यसबाहेक रिजर्भ फोर्स समेत हुनेछ । वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल, असन, नयाँ बानेश्वर, लैनचौरलगायत दुई दर्जन क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति बढाइने प्रहरीले जनाएको छ ।

जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् ।

होली सुरक्षाको कमान्ड डीएसपी र इन्सपेक्टरले गर्ने प्रहरी तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*