नेतृत्वले आफ्ना मान्छे छान्दा पार्टीलाई असर परिरहेको छ : प्रकाशमान सिंह

हेटौंडा खबर
March 15th, 2022

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनु भएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले यस्तो बताउनु भएको हो ।उहाँले हरेक निर्वाचनमा आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा सङ्घीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिङ्गो पार्टीलाई असर परिरहेको बताउनु भयो ।

नेता सिंहले नेपाली कांग्रेसले स्थानीय तहको लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको पनि बताउनु भयो । स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचत अध्यक्ष रवि सिंहले नेपाली कांग्रेसको नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महसुस गरेको बताउनु भयो । उहाँले आफूले निर्माण व्यवसायीहरुको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृतिहरुलाई समाधान गर्ने पनि बताउनु भयो ।

अध्यक्ष सिंहले गएकाे कार्यकालमा भन्दा नयाँ कार्यकालमा आफूले निर्माणका काममा गरेको अठोटलाई पूरा गर्ने प्रतिबद्धता जनाउनु भयाे । उहाँले कोरोनाको कारण अस्तव्यस्त बनेको निर्माण उद्योगलाई सही बाटोमा ल्याउन अबका दिनमा तीव्र गतिमा काम अघि बढाउने प्रतिबद्धता समेत जनाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*