सशस्त्र द्वन्द्वमा घाइते भएकाहरूलाई सहयोग गर्न प्रधानमन्त्री देउवासँग प्रचण्डको माग

हेटौंडा खबर
March 22nd, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका बेला घाइते तथा अपांग भएकाहरूलाई राज्यबाट सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।

आज बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री देउवासँग सशस्त्र द्वन्द्वका घाइते तथा अपांगका सन्दर्भमा ध्यानाकार्षण गराएका छन्।

सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ लाई संशोधन गर्नसमेत प्रचण्डले माग गरेको उनको सचिवालयले जनाएको छ।

‘सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिको लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगताहरुलाई सूचीकृत गर्ने, सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण गर्नुपर्छ,’ प्रचण्डले प्रधानमन्त्री देउवासँग भने।

‘जनयुद्ध’, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका आन्दोलनमा सहिद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई कार्यान्वयनमा ल्याउन पनि प्रचण्डले माग गरेको उनको स्वकीय सचिव रमेश मल्लले बताए।

‘सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउनेलगायत विषयमा कुराकानी भएको छ,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*