बाबाको भेषमा हेटौंडामा मिटर ब्याजको धन्दा, किर्ते कागज बनाउँदै गरिबको उठिबास पार्दै

हेटौंडा खबर
April 18th, 2022

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ बस्ने दिनेश बाबा भनिने दिनेश केशीको मिटर ब्याजको धन्दामा हेटौंडाका दर्जनौं सोझासाझा नागरिक फसेका छन् ।

जोगीको भेषमा आफूलाई धार्मिक सन्त बताउँदै हिँड्ने केसीले भारतीय मूलका नागरिक र नेपाली गरिब तथा विपन्नलाई ऋण दिँदै वास्तविक रकमभन्दा दोब्बर बढीको तमसुक बनाएर अदालतमा मुद्दा दायर गर्ने गरेको प्रमाण फेला परेको छ  । केसीले ठेलागाडामा तरकारी र फलफूल बेच्नेदेखि टेलरिङ व्यवसाय गरिरहेका नेपालीलाई मिटर ब्याजको धन्दामा फसाएको पिडितहरुको आरोप छ  ।

टेलरिङ व्यवसाय गर्ने हेटौँडा-५ का अनुज परियारले २०७४ सालमा जग्गा पास गर्न भन्दै केसीसँग ५ लाख रुपैयाँ ऋण लिएका थिए । तर, केसीले भने १० लाखको तमसुक बनाएर पसलमै कागजमा हस्ताक्षर र औँठा छाप लगाए केसीले लेखापढीबाट पहिल्यै कागज तयार पारेर पसलमै ल्याएर उनीहरूको कागज गराएका हुन् । पक्ष र विपक्षलाई लेखापढीको रोहबरमै कागज गराउनु पर्नेमा केसीले पहिल्यै तमसुकको ड्राफ्ट बनाएर पसलमै लगेर कागज गराएको परियारको भनाइ छ ।

परियारले एक लाखको दरले दैनिक ४ सय अर्थात् २ हजार रुपैयाँ केसीलाई बुझाउने गरेको बताएका छन् । ऋण लिएको ८ दिनपछि परियारले ४ नम्बर वडाको हेटौँडा क्याम्पस अगाडि एउटा पार्लरमा केसीलाई रकम बुझाएका थिए । ‘मैले सबै पैसा बुझाएपछि, अनुज बाबु कागज बोकेर हिँडेको छैन, तपाईंलाई भोलि बिहान ल्याएर कागज दिन्छु भन्नुभयो,’ परियारले भने, ‘सधैँ कारोबार गर्ने भएपछि भोलि ल्याएर कागज दिन्छु भन्दा विश्वास गर्नै पर्‍यो ।’

भोलिपल्ट केसीले परियारलाई भेटेर कागज राखेको ठाउँमा नभेटेको भन्दै केही दिनपछि दिने प्रतिबद्धता जनाएको पाइएको छ । ‘त्यतिकैमा २०७५ साल लाग्यो । फेरि उहाँ आएर अब वडाबाट मात्रै गरेको कागजको मान्यता हुन्छ, तपाईंको पसलमा गरेको कागज अब मान्यता हुँदैन, हराए पनि राम्रो भयो भनेर भन्नुभयो,’ परियारले भने । परियारकै नजिकका अन्य पसलेहरूले पनि केसीसँग ५० हजारदेखि १ लाखसम्म गरेर ८ लाख रुपैयाँ ऋण लिएको उनले बताए ।

केसीले लकडाउन लागेपछि उक्त पैसा परियारलाई मिलाइदेउ भनेपछि उनीहरूले लकडाउनको समयमा पैसा फिर्ता गर्न नसकेको उनको भनाइ छ । ‘मैले पैसा फिर्ता दिन समन्वय मात्रै गरेको थिएँ । लकडाउनले पसल बन्द भएपछि उहाँहरूले पैसा दिन सक्नुभएन,’ उनी भन्छन्, ‘केसीले पसलमा ताला लगाइदिन्छु भनेर धम्की दिनु हुन्थ्यो ।’

परियारले हेटौँडामै घर बनाउँदै थिए । त्यतिकैमा एक दिन केसी पसलमा आएर घरको नक्सा बनाउन आफूले कन्सल्टेन्सी चिनेको भन्दै परियारलाई सँगै लिएर गए । केसीले घरको नक्सा र लालपूर्जा खल्तीमा हालेर भागेको परियारले आरोप लगाए । ‘भोलिपल्ट त्यसो किन गर्नुभयो भनेर भन्दा, नक्सा बनाउन अझै सस्तो पर्छ कि भनेर लगेको तिमीलाई त्यस्तो लाग्छ भने फिर्ता ल्याइदिन्छु भन्नुभयो । पछि त अदालतमा मुद्दा हालेर मेरो जग्गा नै रोक्का गरिसकेछन्,’ परियारले भने ।

त्यस्तै हेटौँडा-१ की सन्तोषी थिङले रोजगारी गर्न जापान जान केसीसँग घर दृष्टिबन्दक गरेर २० लाख रुपैयाँ ऋण लिएकी थिइन् । ३० जेठ २०७४ मा केसीसँग ऋण लिएकी उनी हाल जिल्ला अदालतमा तारेख धाउँदै आएकी छन् । केसीले २० लाख ऋण दिएर तमसुक ३० लाखको गराएको थिङले जानकारी दिइन् । ‘मैले यसो किन गर्नुभयो भन्दा केही हुँदैन नानी, तिमीले पैसा २० लाख नै तिर्नु कागज चाहिँ मैले ३० लाख रुपैयाँको गरेको हो भन्नुभयो । बाबाजस्तो मान्छे तलमाथि गर्नु हुँदैन होला भनेर मैले मानेको हुँ । अहिले मलाई फसाउनु भयो,’ उनले भनिन् ।

कृष्णहरि कँडेलको लेखापढी फर्ममा उनलाई साक्षी राखेर कानुनी रूपमा सम्झौता गर्दै उनले केसीसँग ऋण लिएको बताइन् । उनले ऋणको साँवा नबुझाएपछि ब्याज भने दैनिक बुझाएको बताइन् । ‘मलाई उहाँले तीन वर्षजति भयो मुद्दा हाल्नु भएको । २० लाख रुपैयाँ नै दिन्छुभन्दा अब त्यसो भनेर हुँदैन, मलाई ३० लाख नै चाहिन्छ, कानुनी रूपमा तिमीहरूभन्दा माथि छु भन्नुहुन्छ । म मर्नु न बाँच्नुको अवस्थामा छु, तनावमा आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ । यही कारणले मेरो श्रीमानसँग पनि झगडा परेको छ,’ थिङले भनिन् ।

आफूमाथि केसीले यौन दुर्व्यवहार गरेको आरोपसमेत लगाएकी छन् । ‘मेरो पसलमै आएर घुम्न जाउँ भनेर नराम्रो कुरा गर्नुहुन्थ्यो,’ थिङले भनिन् । आफूले ब्याजसहित ऋण चुक्ता गर्छुभन्दा पनि केसीले पैसा लिन नमानेको थिङको भनाइ छ । केसीले थिङको घर रोक्का गरेका छन् । आफूलाई घर बिक्री गरेर ऋण तिर्न पनि नदिएको उनले गुनासो गरिन् । ऋण लिएको तमसुक गराउने लेखापढी व्यवसायी कँडेलले थिङसँगको कुराकानीमा २० लाख मात्रै ऋण लिएको भए पनि ३० लाखको कागज गराएको बताएका छन् । अडियो रेकर्डलाई अदालतले प्रमाण नमान्दा आफू कानुनी रूपमा तल परेको थिङको गुनासो छ ।

त्यस्तै भारत घर भएका ४९ वर्षीय ललन प्रसाद साहलाई पनि केसीले मिटर ब्याजमा पैसा दिएर दुःख दिएको पाइएको छ । हेटौँडा-१ चाइनाक्वार्टरमा डेरा गरी बस्ने साह ३० वर्षदेखि ठेलागाडामा फलफूल व्यापार गर्दै आएका छन् । सडकमा बसेर फलफूल बिक्री गर्दै जिविकोपार्जन गर्दै आएका साहले केसीसँग २०७४ मा ८० हजार रुपैयाँ ऋण लिएका थिए । केसीले उनीसँग १ लाख बराबरको तमसुक बनाएको साहले बताए । बुवा बिरामी हुँदा ऋण लिएको ८० हजार रुपैयाँका कारण उनले पछिल्लो समय अदालतको चक्कर काट्नु परिरहेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ का दिनेश केसी उर्फ ‘दिनेश बाबा’ले मिटर ब्याजको धन्दामा फसेका करिब दर्जन बढी पीडित एकजुट भएका छन् ।

जोगीको भेषमा आफूलाई धार्मिक सन्त बताउँदै हिँड्ने केसीले भारतीय मूलका नागरिक र नेपाली गरिब तथा विपन्नलाई ऋण दिँदै वास्तविक रकमभन्दा बढीको तमसुक बनाएर अदालतमा मुद्दा दायर गर्ने गरेको प्रमाण भेटिएको  छ । केसीले ठेलागाडामा तरकारी र फलफूल बेच्नेदेखि टेलरिङ व्यवसाय गरिरहेका नेपालीलाई मिटर ब्याजको धन्दामा फसाएको आरोप लागेको छ ।

म धार्मिक मान्छे हुँ, पैसा नतिर्नेले झुटो आरोप लगाएः केसी

आरोपित केसीले भने आफू धार्मिक मान्छे भएकाले यस्तो काम नगर्ने बताए । केसीले पैसा नतिर्नेहरूले आफूमाथि झुटो आरोप लगाएको बताएका छन् । मिटर ब्याजमा पैसा लगाउने नगरेको उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*