कस्को भागमा पर्ला हेटौंडाको मेयर ?, भागबण्डा मिलाउन केन्द्रमा गठबन्धनको बैठक बस्दै
आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्न लागेको सरकारका प्रवक्तासमेत रहेका काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
आइतबार र सोमबार बसेको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि आज पुन बैठक बस्न लागेको हो ।
काँग्रेसले काठमाडौं, ललितपुर विराटनगर र पोखरामा पनि दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ ।
माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिब करिब सहमति जुटिसकेको बुझिएको छ ।
यता काँग्रेसले ११ उपमहानगरको प्रमुख लिएर उपप्रमुख माओवादी, एकीकृत समाजवादी र जसपालाई दिने प्रस्ताव राखेको छ । तर माओवादी केन्द्रले घोराही र जितपुर सिमरा, समाजवादीले हेटौंडा तुलसीपुर र इटहरीमा दाबी गरेको छ ।
यस्तै जसपाले जनकपुर, नेपालगन्ज र कलैया उपमहानगरपालिका प्रमुख मागेको छ । उता एकीकृत समाजवादीले पनि उपमहानगरमा दावी गरिरहेको छ
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तिन दलको आआफ्नै दावी छ । अन्तिम निर्णयले मेयर कसको पोल्टामा जाने भन्ने विषय निकै चासोका साथ् हेरिएको छ ।
हेटौंडाका मेयर र उपमेयरका लागि एकीकृत समाजवादीले २ जना र नेपाली कांग्रेसले ३ जनाको नाम सिफारिस गरिसकेको छ।
आज महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने मन्त्री कार्कीको दाबी छ । सहमति भए हेटौंडाको मेयर र उपमेयर कसले पाउने भन्ने आज निर्णय हुनेछ।


