बागमती गाउँपालिका उपाध्यक्ष स्याङ्तानले फिर्ता गरिन् सरकारी सवारी
आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरका जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आइरहेको सवारी साधनहरू फिर्ता गर्न थालेका छन् ।
यसै क्रममा पूर्वी मकवानपुरको बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तानले सरकारी सवारी साधन फिर्ता गरेकी छिन् । गाउँपालिकाको कार्यालयमा उपाध्यक्ष धनमाया स्याङ्तानले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेकी हुन् ।
आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी आफूले प्रयोग गर्दै आएको ना १ ब २६३४ नम्बरको मोटरसाइकलको चाबी गाउँपालिकाका स्टोर प्रमुख शुसन सुवेदीलाई हस्तान्तरण गरेकी हुन् ।
निर्वाचन आचारसंहिता लागू भएसँगै सवारी साधन फिर्ता गरेको स्याङ्तानले बताइन् ।
‘अब चुनाव केन्द्रित गतिविधिमा लाग्नुपर्छ, हामी कसैले सरकारी सेवा सुविधाको दुरुपयोग गर्न हुँदैन र मैले सोहीअनुसार फिर्ता गरेको हुँ, उनले भनिन् । बागमती गाउँपालिकामा उपाध्यक्षको प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको थियो ।
स्याङ्तान आसन्न स्थानीय तहको निर्वाचनको लागि बागमती गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेबाट सिफारिस भएकी छिन् ।
उपाध्यक्षबाहेक कसैले पनि सवारी साधन फिर्ता नगरेको स्टोर प्रमुख सुवेदीले जानकारी दिए ।


