विवेकशील साझाबाट भरतपुरको मेयरमा युवा इन्जिनियर प्रविन

हेटौंडा खबर
April 24th, 2022

विवेकशील साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयर र उपमेयर छनोट गरेको छ । शनिबार बसेको जिल्ला सदस्य भेलाले प्रविन काफ्लेलाई सर्वसम्मत रूपमा महानगरको उम्मेदवारको रूपमा अगाडी सारेको हो।

२८ वर्षीय काफ्ले सन् २०१६ मा भारतको बैंगलोरबाट मेकानिकल इन्जिनीयरिङमा स्नातक सम्पन्न गरी स्वदेश फर्केर नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय उद्योग कम्पनीमा काम गरेर अनुभव लिँदै केहि वर्षदेखि आफ्नै उद्यम गरिरहेका छन्। उनले विगत ३ वर्षदेखि पार्टीको हरेक अभियानमा नेतृत्व लिँदै केहि वर्षयता  चितवन जिल्ला संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

उनी ‘तातोभात अभियान’ का योजनाकार पनि हुन् जसले भरतपुरमा २८ दिनसम्म निरन्तर कोभिड सङ्क्रमित बिरामीका कुरुवाहरू तथा न्यून आयस्रोत भएका नागरिकलाई निःशुल्क खाना खुवाएको थियो।  सँगसँगै, चितवनका हरेक सामाजिक,राजनीतिक घटना तथा समस्याहरूप्रति चासो र चिन्ता राख्दै गम्भीरतापूर्वक समाधानमुखी राजनीति गर्ने सङ्कल्प बोकेका युवा राजनीतिज्ञ हुन्।

साथसाथै भेलाले महिला अधिकारकर्मी पुष्पा सापकोटालाई उपमेयरको रूपमा अगाडी सारेको छ।  ३८ वर्षीय पुष्पा महिला अधिकारका लागि सशक्तीकरण, शिक्षा र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। सापकोटा विवेकशील साझा पार्टीको स्थापनाकालदेखि जिल्लामा महिला अधिकारकर्मी तथा राजनीतिकर्मीको रूपमा परिचित छिन् ।  हाल उनी विवेकशील साझा  पार्टीको केन्द्रीय  सदस्य छिन्। साथसाथै भेलाले जिल्ला संयोजकका रूपमा जगदीश पन्तलाई अगाडी बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*